Sunday, April 12, 2020

कविता : नयाँ बर्ष २०७७ (बि.सं)

~पूर्ण श्रेष्ठ~

नयाँ बर्ष को शुरुवात छ
समाज चकमन्न छ
पृथ्वी  डग्मगाई  रहेछ
मृत् शरीरहरुको चाङ नै चाङ छ
हजारौंको मृत्युमा प्रतिदिन
आफन्तहरुको चित्कार छ
नजिकसम्म पर्न नसकी
मृत्युहरु लावारिस बनिरहेछन्

निस्कृय छन्
स्वतन्त्रताका नाराहरु
गुपचुप छन्
सिद्धान्तका बुँदाहरू
मृत छन् कानूनका धाराहरु
लज्जित छन्
बिज्ञानका खोजहरु
एउटा भाइरसको सामु
कार्पेट मुनिको धुलो झैँ
अदृश्य छन्, शक्तिवानहरु।

 दोबाटोमा उभ्याई दियो
महाशक्तिको अहंकारलाई
नाङ्गो बनाइदियो
सम्पन्नाताको धक्कुलाई
हाँसो बनाइदियो
उत्कृष्टताको नमुनालाई
सम्झन बाध्य पारेको छ सबैलाई
सीमा रहित छन् पृथ्वी
न कोही साना छन्
न कोही ठुला छन्
सृष्टिमा सबै समान छन्।

लागिरहेछ
पृथ्वी डुबिरहेछ
मनुष्यहरु पुकारिरहेछन्
देवी देवताहरु आफै डराइ
"त्राहिमाम्  प्रभु त्राहिमाम्" जपिरहेछन्
नयाँ बर्षको दिन छ
बाँच्नेहरुलाई मेरो शुभकामना छ
नयाँ बर्ष २०७७को शुभकामना छ ।
 

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)    

No comments:

Post a Comment