Sunday, April 12, 2020

कविता : पैसा

~गोबिन्द सिंह रावत~


उ जन्मियो, मुख हेर्दा, आफन्तले हातमा राखिदिए पैसा
नौरानमा नाम राख्न, बाले बाजेलाई टिका लाएर दिए पैसा
पासनी गर्दा खाने र खुवाउनेले, गक्ष्य अनुसार खर्च गरे पैसा
विद्यालय, महाविद्यालय, विश्वविद्यालय , पढ्दै गयो, तिर्दै गयो जता ततै पैसा
जागिर खान खुवायो उसले अनेकौंलाई पैसा
जागिरे भएपछि उसले पनि खान थाल्यो अरुबाट पैसा
पैसा पैसा, कतै उसले दियो पैसा, कतै उसले लियो पैसा
जग्ग किन्यो नियमानुसार,नियमविपरित तिर्‍यो मालपोतमा पैसा
नक्सा बमोजिम घर बनायो नियमानुसार,
नियमविपरित तिर्‍यो नगरपालिकामा पैसा
बिजुली, धारा, टेलिफोन नियमानुसार जोड्न
तिर्‍यो नियमविपरित पैसा
परम्परा हो अड्रडा अदालतको खान र खुवाउनु पर्छ सबैलाई पैसा
मन्त्री नेता उच्चपदस्थ कर्मचारी, सबैले खान्छन् खुवाउछन् पैसा
आफन्त नजिकिन्छन्, जब हुन्छ पैसा, सब टाढिन्छन् जब हुन्न पैसा
पैसामा माया पैसामा दया, साथी सम्बन्धी बटुल्ने पैसा
पैसाको भरमा पद प्रतिष्ठा,
सोध्दैनन् कसैले न भए पैसा
कमाउदै गयो उसले पैसा, रमाउदैै गयो पाएर पैसा
किन्यो जवानी पैसाको भरमा, बुढौंली आयो काहॉ लाउने पैसा
विरामी पर्‍यो लुटायो पैसा, रोग बलियो कमजोर पैसा
बुझ्यो बल्ल पैसाको अर्थ,
ब्यर्थ भयो कमाको पैसा
मृत्यु सत्य, भ्रम हो पैसा
बाचुञ्जेल कमाउदै हिड्थ्यो पैसा,
मरे पछि लास संग छर्दै गयो पैसा
नभए हुन्न बाच्नलाई पैसा, मरे पछिपनि चाहिने पैसा
पैसा पैसा नौरान देखि श्राद्धसम्म पैसा पैसा
पैसा पैसा जन्मेदेखि नमरुञ्जेल सम्म पैसा पैसा

(अप्रिल १२, २०२० का दिन  शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment