Sunday, April 12, 2020

कविता : कुरूप कोरोना

~सीता अर्याल~
                  
अचानक तेरो उपस्थिति ?
खै हामीले त बुझ्नै सकेनौँ
कठोर हृदय लिएर
तीखा दाह्रा, नङ्ग्रा फिजाउँदै
मानवतालाई कुल्चदै
आतङ्कको साम्राज्य फैलाएर
मान्छे मार्ने घृणित ब्यापार गर्न
ए क्रूर समय ! तँ किन आईस् ?
ए कुरूप कोरोना ! तँ किन आइस् ?

हाम्रा सुन्दर जिन्दगीका घाँटी समाउँदै
भोक खोसिस्, निद्रा चोरिस्
काम लुटिस्, सुख हरिस्
हाम्रो फूलजस्तो
उज्यालो बर्तमानलाई
कङ्काल वनाउन किन आईस् ?
कला बिहिन कुरूप नाटक देखाउँदै
भयको आततायी  छाँयाले छोप्दै
ए क्रूर समय !  तँ किन आईस् ?
ए कुरूप कोरोना ! तँ किन आईस् ?

त्रासैत्रासले थकित छन् मनहरू
भययूक्त मृत्युका समाचारले
कामेका छन् मुटुहरू
दन्किरहेछ आगो चारैतिर
बिल्लिपाठ बनाउँदै
 मुस्कुराइ रहेछ समय
सखाप पार्न खोज्दैछ जगत
निल्न खोज्दैछ संसार
दन्त्यकथाको क्रूर राक्षसभन्दा भयानक
ए क्रूर समय ! तँ किन आईस् ?
ए कुरूप कोरोना ! तँ किन आईस् ?

मानिसदेखि मानिस नै त्रसित हुनुपरेको छ
सारा बस्तिहरू सुन्य छन्
घरहरू कारागारमा परिणत हुदैछन्
आतंकको सुसेली गुन्जाईरहेछ अदृश्य कोरोना
मृत शहरजस्तै सुन्य, सुन्य
मुर्दाशान्ति चारैतिर
पल पल मरेर जिईरहेछौँ
विश्वब्यापी महामारीको भयले
कोलाहल छ वातावरण
ए क्रूर समय ! तँ किन आईस् ?
ए कुरूप कोरोना !  तँ किन आईस् ?

तर….,हामी सचेत भैसकेका छौँ
तेरा हतियारमा खिया पर्नेछन्
दाह्रा, नङ्ग्रा मक्किन थालिसके
घमण्डको संसार भत्काउने छौँ
तेरो खुशिको तान्डव नृत्यलाई
पैतालाले कुल्चिएरै सखाप पार्ने छौँ
धुलो पिठो पारेर अस्तित्व मेटाउने छौँ
पानीको फोकासरी नै त हो तेरो जीवन
हाम्रो यो स्वर्गजस्तो धर्तिबाट
तँ अबस्य गलहत्तिने छस्
तैँले सृजना गर्न खोजेको काला रातहरूमा
छिट्टै उदाउने छन् जुन, ताराहरू
अबस्य झुल्कनेछन् सहस्र घामहरू
अनि मुस्कुराउने छन् हाम्रा हाँसो र खुशिहरू।
                  ###

मार्च २०,२०२०
म्याडिसन, अमेरिका। 

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment