Sunday, April 12, 2020

कविता : कविताको रङ्ग

~ई. बिष्णु बहादुर सिंह~

कालो
निलो
रातो
वा सप्तरङ्गी
अथवा पानीजस्तो पारदर्शी
कस्तो हुन्छ रङ्ग कविताको ?

भौंतारिंदै कविताको रङ्ग खोज्दै
मैले ध्रुवतारालाई सोधें -
कस्तो हुन्छ कविताको रङ्ग ?

उस्ले भन्यो-
कविताको रङ्ग त रातो हुन्छ
खाटी मान्छेको रगतजस्तो ।

कविता त
नीलो आकाशजस्तो
सुनौलो बिहानीजस्तो
मनमोहक साँझजस्तो
पानीको मुस्कानजस्तो हुनपर्छ रे ।

मैले सोधेँ-
कस्तो हुन्छ कविताको रङ्ग ?
मुस्कुराउँदै शान्तीका दूतले भने-
कविताको रङ्ग त नीलो हुन्छ
कविताको रङ्ग त
औँसीको रातजस्तो कालो
बन्दुकको आवाजझैं चर्को
बारूद मगमगाउने
डढेको बस्तिको शून्यताजस्तो सुनसान हुनुपर्छ रे ।

मैले बिद्रोहीलाई सोधेँ-
कस्तो हुन्छ कविताको रङ्ग ?
उस्ले भन्यो-
बारूदको धुवाँजस्तो हुन्छ कविताको रङ्ग ।

कविताले त मानवताको भाषा बोल्नुपर्छ
ईन्द्रेणीको रङ्ग समेट्नुपर्छ
हृदयको आवाज आउनुपर्छ
राष्ट्रियताको गीत गाउँनुपर्छ ।

मैले आँफैंलाई सोधें-
कस्तो हुनुपर्छ कविताको रङ्ग ?
कविताको रङ्ग त आफ्नो देशको माटो जस्तै हुनुपर्छ ।


(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा पठाईएको आविष्कार भारतीद्वारा वाचन गरिएको ।)

No comments:

Post a Comment