Sunday, June 23, 2019

कविता : जीवन यस्तो हुन सकोस्

~शान्ता पाण्डेय~

पूर्णिमाको जुनसरी शितल बनोस् जीवन
आकाशको ध्रुवतारा जस्तै चम्किरहोस् जीवन
जाडोको घामसरी न्यानो बनोस् जीवन
आकाशको रङ्गसरी शान्त रहोस् जीवन ।।

गुलाबको फूलसरी फक्रिरहोस् जीवन
फलेको वृक्षसरी झुक्न सिकोस् जीवन
पाकेको फलसरी रसिलो बनोस् जीवन
सबलाई शान्ती दिने बोली बनोस् जीवन ।।


ज्ञानगुनका शब्दहरु पढिरहोस् जीवन
सेवा सहायताका लागि हात फैलाओस् जीवन
सकारात्मक सोंच राखी, अघी बढोस् जीवन
बर्तमानलाई अङ्गालेर अघी हिंडोस् जीवन ।।

कल्याणकारी काममा अघी बढोस् जीवन
दु:खमा पनि सुखी बनोस् जीवन
सुखमा कहिल्यै नमात्तियोस् यो जीवन
अरुको रोदनमा आँशु बनोस् जीवन ।।

अरुको सुखमा खुशी बनोस् जीवन
आनन्दै आनन्दले प्रफुल्लित होस् जीवन
मनको कालो मैलो पखाली रहोस् जीवन
नदीमा बगेको कञ्चन पानीसरी सफा बनोस् जीवन ।।

राम्रो राम्रो सोंचहरु सोंच्न सकोस् जीवन
मायालु नजरको हेराई बनोस् जीवन
महत्वपूर्ण परिस्थिती चिन्न सकोस् जीवन
काँडारुपी बिरुवाबाट फूल फुलोस् जीवन ।।

मातृभूमी प्रती देशभक्ती बनोस् जीवन
ऐनाको प्रतिविम्व बनेर हेरोस् जीवन
समयानुकुल बन्न जानोस् जीवन
हिमालसरी अटल रहने गरोस् जीवन ।।


(शमिन तारा जि ले वाचन गर्नुभएको)

(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)   

No comments:

Post a Comment