~डा. रमेश खनाल~

या भनौं आफ्नो सम्पूर्ण अस्तित्वलाई
तिमीमा बिलिन गराउने चाहनाको
एउटा अभ्यर्थना
हरेक बिहानीको मेरो पूजा
र त्यसमा सन्निहित
आत्मतत्वम् शोधयामी स्वधा, विद्यातत्वम् शोधयामी स्वधा, र शिवतत्वम् शोधयामी स्वधा
संगै गरिने आचमनहरुले
सम्पूर्ण अन्तरात्मा सिंचित हुनु अगावै
किन किन मेरा खुट्टाहरु झमझमाएको अनुभूत गर्छु,
शायद पूर्ण भक्ति र समर्पणको कमी नै त होला
त्यसमा अर्पित फूलहरु समेत
कायेनवाचा नगर्दै
ओइलाएको हो कि जस्तो देख्छु।
र हरेक साँझ
तिम्रो आराधनामा
मैले प्रज्ज्वलित गरेका दीपहरु
शायद आफ्नै हृदयको खानीमा भएको
तेलकै अभावले त होला
स्वयम् लाई समेत प्रकाश नपुगे जस्तो लाग्छ
किन किन छिट्टै निभेको हो कि जस्तो लाग्छ।
गुरुले भन्ने गरेको तत्वमसि बाट
माथि उठ्न नसकी
अहं ब्रह्मस्मि अनुभूत गर्न नसकेको मेरो अस्तित्व
केवल अर्जुनको मन दौडिए झैं
घरि कता घरि कता दौडिरहेछ
बाटो पहिल्याउन नसकेको एउटा यात्री झैं
फगत रुमल्लिरहेछ।
शिवोSहं शिवोSहम् गर्दै
शङ्कराचार्यको निर्वाण षटकम्
गाउनु त परै जाओस्
देहम् नाहम्
कोहम् सोहम् को बौद्धिक अर्थलाई
आफ्नो अस्तित्वमा समाहित गर्ने प्रयासमा समर्पित
मेरा कार्यहरुको समेत कमजोरीहरुले होला शायद
म तिमीबाट अझै टाढै छु
तिम्रो बिशाल आलिङ्गनको परिधिबाट स्वयंलाई बाहिरै ठानेको छु।
तथापि मैले एउटा सङ्कल्प लिएको छु
एउटा प्रतिबद्धतालाई जीवन शैली बनाउने कोशिस गर्दैछु
कि म तिम्रो आराधना गर्न छोड्ने छैन
तिम्रो खोजीमा भौंतारिन छोड्ने छैन
तिम्रो महिमालाई शिरोपर गर्न छोड्ने छैन
न त तिम्रो ध्यानमा लीन हुने कोशिस या
मन्त्रोच्चारण नै छोड्ने छु।
खालि एउटा सानो अनुरोध मात्र मेरो
कि तिमी
म जे छु र जस्तो छु
त्यसैलाई स्वीकार गरिदेउ
सर्वपरित्याग गर्न नसकेको यो प्राणी
केहि माया, मोह, लोभ र अहंकार कै बीच पनि
केहि रिस, राग, द्वेष र ईर्ष्या पोखेरै भए पनि
या फेरि काम, क्रोध र मात्सर्य भाव साँचेरै भए पनि
बिस्तारै एउटा गोरेटो खन्ने उपक्रम गर्दैछ
अनि उसका गल्ती र कमजोरीहरुलाई
अबोध बालकको बामे सर्ने असफल प्रयास ठानेर
पुन: आफ्नो छातीमा लगाउ
पुन: आफ्नो दूधको धाराले सेचन गर
र सत्मार्गमा लगाईदेऊ, लगाउने प्रयास नत्यागीदेउ।
अनि हे भगवन्
धेरै परिक्षा नलीईकन
बेलाबखत हुने भाव समाधिको छोटो अनुभूतिमा
मेरा नयनबाट अनायासै खस्ने मोती बिन्दुहरु टिपेर
तिम्रो जटाबाट झरेकी गङ्गाको पवित्र धारा जस्तै
त्यसको अजस्र स्रोत स्थापना गरिदेऊ
ताकि म सोही अश्रुको गहिरो तालमा डुबुल्की मारेर
यो संसार बिर्सन सकूँ
तिमी स्वयंले दिएको यो नस्वर देह
त्याग गर्न सकूँ
तिमीमै बिलाएर
अस्तित्वहीन बन्न सकूँ
अस्तित्वहीन बन्न सकूँ।।
-
डा.
रमेश खनाल,
ल्यांग्कास्टर, पेंसिल्वेनिया
ल्यांग्कास्टर, पेंसिल्वेनिया
(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता
अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं
नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment