Saturday, August 1, 2020

कविता : कविता फुर्दै फुरेन

~यदु गुरागाईं~


मित्रको घरमा पहिलो पटक कोठे गोष्टिमा भाग लिन पाएको
स्रस्टाको मिठो कविता र स्वादिलो खाजाले निकै प्रभावित पारेको ।
कविता त लेख्नै  पर्ने रहेछ भनि उत्प्रेरणा नमिलेको चाँही होइन
तर जति प्रयास गरे पनि कविता फुर्दै फुरेन ।।

अरुकै कविता भए पनि वाचन गर्न अविष्कारले सुझाएको
अर्को पटक कविता लेख्छु भनि दोस्रो गोष्टिमा बाचा बुझाएको ।
राजेन्द्र दाई र दिनार दाईले केहि लेख्न नसम्झायको चाँही होइन
तर जति प्रयास गरे पनि मलाई कविता फुर्दै फुरेन ।।



कल्पना बैनी र रुकु दिदिले गोष्ठीको निमन्त्रणा नदिएको होइन
आफ्नो सृजना नभयकोले गोष्ठीमा भाग लिन जानै सकिएन ।
कपि कलम लिएर केहि लेख्ने जमर्को नगरेको चाही होइन
तर खोइ जति प्रयास गरे पनि कविता फुर्दै फुरेन ।।

राम्रै संग पढें भन्ठान्थे अहिले सम्म, केहि डिग्री पनि लिइयो
बिज्ञान र गणितको पछि लाग्दा नेपाली साहित्य कता छाडियो छाडियो।
अहिले आएर कोशिश गर्दा कुनै फेद टुप्पै भेटिएन
अहँ खोइ जति प्रयास गरे पनि कविता फुर्दै फुरेन ।।

बिदेशमै बसे पनि म्यडिसन नेपाली साहित्यको उर्वर भुमि रहेछ
यस्तो भूमिमा पनि सृजना नगर्ने सायद बिजै पुरानो भएछ ।
बहुत मिहिनेत गर्दा पनि अङ्कुर फुट्ने छाँटै देखिएन
खोइ जति प्रयास गरे पनि अहँ कविता फुर्दै फुरेन ।।

भो मैले हात उठाए कविता लेख्ने स्रस्टा म होइन
कविताको नाममा धेरै जात्रा गर्ने अब मलाई मन छैन ।
गाइजात्रै भएर मात्रै मेरो पनि आज बोल्ने पालो छुटेन
नत्र जति प्रयास गरे पनि मलाई कविता फुर्दै फुरेन ।। 

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment