Saturday, August 1, 2020

हास्य कविता : एमपी

 ~गोबिन्द सिंह रावत~

हजुर म एमपी
श्री एमपी र श्रीमती एमपी अर्थात
मन प्रसाई र मेनका प्रसाईको एकमात्र छोरा
महेश प्रसाई
बुवा एमपी मतलब मन्दिरको पुजारी
आमा एमपीको अर्थात मिठाई पसलेकी छोरी
त्यसैले मलाई खानमा एमपी अर्थात माल पुवा मन पर्छ
मैले एमपी बाट एमपी गरेर एमपीमा जागिर खान थाले,
के भने नि


महेन्द्र पाठशालाबाट मेट्रिक पास गरेपछि महेन्द्र पुलिसमा काम गर्न थाले
त्यहीँ काम गर्दा एउटी एमपीको एमपीसँग एमपी बस्यो
भनेको मतलब
महिला प्रहरीको मेनुका प्रधानसँग मायाप्रिति बस्यो
प्रेम गर्न प्रेमपत्र लेख्दै म त कवि बने
अनि कविता लेखेर एमपी माने मधुपर्कमा छपाउन थाले
मेरो कविता पढेर सबै
एक दिन तैले एमपी अर्थात मदन पुरस्कार पाउछस् भन्न थाले
त्यसैले मैले पनि एमपी अर्थात महेन्द्र प्रहरी छोडेर
एमपी अर्थात मास पब्लिकेसन पढ्न थाले
अनि एमपी पत्रिकाको एमपी माने मुख्य पशासक भए
देशमा भर्खर एमपी मतलब मल्टी पार्टी सिस्टम शुरु भएको थियो
मैले पनि जागिर छोडेर राजनीति गर्न
एमपी पार्टी यानिकी माओवादी पार्टी जोईन गरे
पार्टीमा लागेपछि दिन बिराएर एमपी गर्नु पर्ने रहेछ
सधै एमपी अर्थात मारपिट गर्न नसकेर पार्टी छोडे
हाल म पोखराको एमपीमा एमपी नामले एमपी खोलेर बसेको छु
के भनेको भने
महेन्द्रपूलमा माछापुछ्रे नामबाट मासु पसल खोलेर बसेको छु
के गर्नु  आफुलाई सबैले एमपी भन्छन् माथा पागल
त्यसैले राम्ररी पढ्न पनि सकिन
मसंगै पढ्ने मेरो एमपी साथी मित्र पौडेल
अमेरिकाको एमपी अर्थात
म्याडिसन पार्कमा डुलीरहेको छ
त्यसैले भगवान एमपी महादेव पार्वतीको कसम
एकपटक मेरो एमपी साथी मित्र पौडेललाई भेट्न
एमपी म्याडिसन पार्कमा एमपी म पुगी छाड्छु
यही हो एमपी माने मेरो प्रार्थना

-डा. गोबिन्द रावत, टोरन्टो, क्यानडा

(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment