Saturday, December 2, 2023

कविता : भ्रष्ट आचार

  ~अबिमन पसछें~

नामको दाउमा उपस्थिती जनायौ
कामै नगरी सेवक कहलाइयो
आफ्नै लागी फूलमाला मगाउंदा
ईज्जत गुमाएनौ र किनीएका तालीमा ?

योग्यताको कसीमा उतिर्ण भयौ या
ज्यु हजुरी गरेर पदासिन भइयो
नक्कलमा सक्कली छाप लाउंदा
मेरुडण्ड बिलाएन र नैतिक भारमा ?



काम गरी खानेको ज्याला रोकियो
रिवन काटनेको भत्ता बढाईयो
कृपाको आसमा सम्मान बांडदा
देउटै छुट्यो की पुजाको स्थानमा ?

सहि आचरणको कमाई थियो र ?
लुटको जानी भब्य भोज मनायौ
सफलता के मा मापन गर्यौ ?
खोसेको छाक की फ्यालेको थालमा

धन सम्पति जोडेर जित्यौ या
दायित्व संग सस्तिएर हार्यो
सोझो बाटोमा बॉगो हिंड्यौ
कसरी तर्छौ यो चोला बैतरणीमा ?

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment