“त्यता के के हुँदैछ? यता भुइँचालोले हामी दुःखीकै खायो फेरि मुटु कलेजो।” – अञ्जान बाबु र संगीत श्रोता
हे ! दैव, तँ किन यति निष्ठुरी भईस्?
मध्यरातमा आईस् र बेस्सरी हल्लाईस् ।
पानीको घैँटो लडाईस्, भुड्काको आँटो घोप्ट्याईस् ।
हर्पे, र चौंठीको घ्यू, तेल, महलो, चुकिलो सप्पै घोप्ट्याईस् र गँबुवा उभिण्ड्याईस् ।
हे ! दैव, तँ किन यति निष्ठुरी भईस्?
अँगालोमा बाँधिएका प्रियतम र प्रियसीको बिछोड गराइस् ।
दूधे बालकका टाउको उछिट्ट्याईस्, मेरो बाबु भन्न नपाउँदै आमालाइ नै किच्याईस् ।
हे ! दैव, तँ किन यति निष्ठुरी भईस्?
घर टहरा भत्काईस्, आँग छोप्ने लत्ता कपडा सबै पुरिस् ।
बर्षभरि ज्यान पाल्ने अन्नपात बिगारिस्, सबैको उठिबास गराईस् ।
हे ! दैव, तँ किन यति निष्ठुरी भईस् ?
यत्तिसम्म त ठीकै थियो...
पाटामा बास बसेर पुरिएका अन्नपात केलाएर जसोतसो बाँच्दै थियौँ
साँप्रो माथि पिँडो थप्न फेरि कात्तिके झरी र चिसो स्याँठ बनेर आईस् ।
हे ! दैव, तँ किन यति निष्ठुरी भईस् ?
कहिले बाढी पहिरो बनेर आईस्, कहिले रोगब्याधि बनेर आईस् ।
कहिले खडेरी, अनिकाल बनेर आईस्, तर सधैं हाम्रै काल बनेर आईस् ।
हे ! दैव, तँ किन यति निष्ठुरी भईस् ?
देश र जनताको सधैं भलो गर्छौं भनेर मुट्ठी बटार्ने, सलाम गर्ने, नमस्कार गर्ने,
कसैले नहेरे पनि दैवले हेर्छन् भनेर तेरै बाटो हेरेर बसेका थियौँ,
तर तँ पनि शासक जस्तै हाम्रै टाउकामा गीर खेल्न आईस् ।
हे! दैव, तँ किन यति निर्दयी भईस् ?
कि त हामीलाइ पसिना बगाएर शान्तिसँग बाँच्न दे !
नभए, एकै पटक पाखा पर्वत बगाएर गङ्गासागरमा मिसाइ दे !
तर यसरी किस्ता किस्तामा दुःख र हण्डर न दे !
(पश्चिम नेपालको समसामयिक भूकम्पको कहरसँग सम्बन्धित)
(डिसेम्बर २, २०२३ मा आयोजित 'नाफा-साहित्य साँझ २०८०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment