Saturday, December 2, 2023

कविता : आमाको खास्टो

  ~अनिमा ढुङ्गेल~

धेरै टाढा विदेशमा पढ्न जाँदै छौ छोरी
भन्दै आमाले चिन्ता गर्नु भयो
एक सुट्केस त लुगाले भैसक्यो भारी
तर आमाको खास्टोले हलुका बनाई दियो

भाडामा लिएको कोठा आफ्नो बनाउनु थियो
वल्लो, पल्लो, तल, माथि बसेकाहरूसँग
चिन जान गर्नु थियो
आमाको खास्टो पट्याउँदै तयार भएँ
भित्र बाहिर गर्दा गर्दै साथीहरू बनाएँ

कति खाउँ ईन्स्टेन्ट नुडल्स र सिरियल
अब वाक्क आउन थाली सक्यो
दाल, भुजा, तरकारीको मिठो बास्ना
बरदा यो खास्टोले सम्झाई दियो

पकाउने पर्‍यो भन्दै डटेर लागें
मसला जिम्बु टिम्बुर निकाल्न थालें
खास्टो मेचमा झुन्डाई दिंदा
विश्वासको आभास दिएको पाएं

दिनहरू बित्दै गए
कलेजको जिन्दगी पनि सकियो
विवाह बारी बच्चा बच्ची
त्यहि खास्टो भयो सबैको साक्षी

लपेटें मेरो मुटुका थुंगाहरू
बटुल्दै त्यो खास्टोको कुनाहरू
गर्मी, जाडो, चिसो र तातो
अंगाल्दै हरेक मौशमहरू

धेरै टाढा पढ्न जाँदै छौ छोरी
भन्दै मा चिन्ता गर्न थालें
"मम्मी (mommy) त्यो खास्टो लिएर जान्छु नी"
भनेको सुन्दा
गरुङ्गो मन बिसौनै बाटो मैले पाएं ।

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment