Saturday, December 2, 2023

कविता : शिर्षकबिहिन

 ~कल्पना ढकाल रिजाल~    

मलाई धेरै कुराले आश्चर्य गराउँछ अनि मनमा खुल्दुली हुन्छ
आँफैले आँफैलाई प्रश्न गर्छु

साँच्चै हिउँलाई अरू रङ्ग मन पर्छ कि पर्दैन होला ?
आकाशलाई चारै तिर पुग्दा थकित हुन्छ कि हुँदैन होला?

अनि बग्दै गरेको नदिलाई फर्किने चाहाना आउँछ कि आउँदैन होला ?
यो आउँदै गरेको जाडोले गरिब र दुखीहरूको चाहनालाई कसरी समेट्छ होला ?

ती टाढा बस्ने छोराछोरिलाई बुढा बाउआमाको त्यस्तै याद आउँछ कि आउँदिन होला जुन हामी ती
बाबाआमाका आँखामा हरेक दिन देख्छौं ?

त्यो विदेशमा बस्ने भाइलाई दिदिको माया र सत्वाबले मन छोयोकी छोहेना होला
जिन्दगिको दौडमा छुटेका आफन्तले स्वर्गको झ्यालबाट हेर्छन कि हेर्दैनन् होला
हे भगवान भनेर बोलाउँदा कुन नामका भगवानले फर्केर हेर्छन होला ?

आखिर जिन्दगी नै प्रश्न रैछ ,जवाफ पाउने भए भविष्य मेरा आँखामा देखिन्थे होला
अनि सबै राम्रो मात्र हुन्थे होला ।।

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment