Saturday, December 2, 2023

कविता : ब्रम्ह सत्य कि जगत सत्य

   ~पूर्ण श्रेष्ठ~

सत्व, रज र तमले सिंचित
मेरो इन्द्रीय, बुद्धी र मन
निर्गुण, निराकार स्वरुपमा रहेको
मेरो चित्त, हंश र आत्मा
सबले मलाई तानी रहन्छ
द्वैत, अद्वैत को द्वन्दमा
मन, मस्तिष्क को अन्तरबाट
ब्रम्ह सत्य कि जगत सत्य
गहन अर्थ खोजी रहन्छ ।

भन्छन भाग्यबादीहरु
छैठींमा बिधाताले
पूर्व जन्मको कर्म मिसाई
लेख्छन भाग्य मान्छेको
ललाटमा जे लेख्यो
भोग्छन त्यही मान्छेले
उमेरमा, धेरैले मेटाउन खोज्छन
तर, सक्तैनन कसैगरि मेटाउन
बिधाताले लेखेको छैठींमा ।

संघर्षले जीवन जीउनेहरु
हरेस खाँदैनन हारबाट
आफ्नै मेहनत र पसीनाले
बल, बुद्धी,र बर्कतले
बिधाताले लेखेको भाग्य
छोपिदिन्छन पराक्रमले
हार नखाई उत्साहले
लड्दै, उठ्दै, भिड्दै
कोर्छन आफैले आफ्नै भाग्य ।

जीवनको उत्तरार्धमा
जगत सत्य भोगीरहेछु
दूर क्षितीजमा कतै
ब्रम्ह सत्य खोजी रहेछु,
मेहनत, अनुभब र तपस्याले
निरन्तरको सत्सङ र बिधाताको अनुकम्पाले
ज्ञानको निचोडमा पुगेको छु
“हो, बिधाताले छैठींमा,
भाग्य लेख्ने गर्दो रहेछ
तर भाग्य लेखेको कापीमा
खाली पाना पनि हुँदो रहेछ
त्यही पानाको छेउमा
केही अक्षर कोरेको छु
मैले बिताएको यो जीवनको
अनुभबहरु छरेको छु
जगत त सत्य रहेछ नै
ब्रम्ह निर्बिकल्प सत्य रहेछ”।।
 
(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता) 

No comments:

Post a Comment