Saturday, December 2, 2023

कविता : तिमिले छाडेर गएदेखि

 ~लेखनाथ काफ्ले~

घर आज घर जस्तो छैन छोरा
तिमिले छाडेर गएदेखि ।

म मक्किन लागेको मेरो बुढो हड्डीले
ढल्न लागेको घर थामेर बसेकि छु ।

तिमि सधैको लागि फर्कन्छौ भन्ने
असम्भव आशा बोकेर मृत्युको
दिन कुरी बसेको छु ।

सम्झनाका बुटाहरुले फालेको
अक्सिजनको साहारामा
एक मुट्ठी स्वाश फेरिरहेछु ।

थालमा जब भात पस्कन्छु नि
प्रत्येक पस्काइमा तिमि
भोको भएको आभाश हुन्छ ।

भाडा माझ्दै गर्दा तिम्रो दिदिको
व्यस्तताले थाकेका पीडुलाहरुमा

ममतारूपी तेल लगाएर
मालिश गरिदिएको भान हुन्छ ।

ओछ्यानमा पल्टिदा
तिम्रा बाको काल्पनिक स्पर्शले
स्नेहको झुठो आभाश गराईदिन्छ ।

मन मेरो मन जस्तो छैन छोरा
तिमिले छाडेर गएदेखि ।

तिमी एक दुई वर्षमा तीन चार
हप्ताको लागि भेटन आउदा
दुईचार दिन त मलाई सधैको लागि
तिमि घर फर्किए झै लाग्छ ।
कुखुरीले हराएको चल्ला
भेट्दा खुशी भएजस्तो गरि
मेरो मन अचानक फुरूंग हुन्छ ।
हर्षको आशुले आखा रसाउछ ।
तर तिमि फर्किने दिन
प्वाख पलाएको ढुकुर सधैको लागि
गुड छाडेर उडे जस्तो अनुभुति हुन्छ ।
मेरो मुटु आधा टुक्रिएर छुटिए झै लाग्छ ।
भक्कानिएर आखाबाट आशुको भेल बग्छ ।

म आज म जस्तो छैन छोरा
तिमिले छाडेर गएदेखि ।

राजा, म तिम्रो बिरानो सहरमा
सधैका लागि बसिरहन सक्दिन ।
जहाँ हरपल आफनाको बिचमा घेरिदा पनि
एकान्तले मलाई तर्साईरहन्छ ।
तिम्रा बा र मैले कयौ पटक खोस्रेको
माटोको सुगन्धले सदैव मलाई तानिरहन्छ ।
तन त्यही हुन्छ तर मन यहाँकै
घर, पाखा, पखेरीतिर डुल्दै छट्पटिरहन्छ ।

बाबु, पहिलो पटक आगनमा तिमिले चालेका
पाइलाहरुले बनाएका डामहरुमाथी
मेरा अन्तिम पाईलाहरु चाल्न मन छ ।
तिमिलाई बसाएर तोरीको तेल लगाईदिएको
थोत्रो गुन्द्रिमा बसेर यादको
मीठो घाम ताप्न मन छ ।
तिमिलाई काँखमा च्यापेर सुतेको
ओछ्यानमा मेरा अन्तिम रातहरु बिताऊन मन छ ।
तिम्रो बाको शरीर जलेको माटोमै
मलाई जलेर खरानी हुन मन छ ।

त्यसैले, मेरो चाहनाहरु तिम्रा जस्ता छैनन् छोरा
तिमि टाढा भएदेखि ।
मेरो संसार पहिले जस्तो छैन
तिमिले छाडेर गएदेखि ।।


(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)

No comments:

Post a Comment