Saturday, December 2, 2023

कविता : आभाष

~सन्जना शाही~

उडेर सपनाको शहरमा
आइपुगेको छु सपना केलाउँदै
लाग्छ म छु र पो त मेरा सपना छन् ।

कुनै दिन त्यो बेला बर्षौं पहिले
सानो शहरमा रुमाललिरहेको थिएँ
आफ्नै परिवेशमा हुर्किरहेको थिएँ
सम्झदै मन अनायसै पग्लिन्छन्
हिमालको हिउँ पग्ले झैं
लाग्छ म छु र पो त मेरा सपना छन् ।



जुनकिरीको आभाष झैं साथी-सङ्गी
सयपत्री, मक्खमली र गोदावारीको सुगन्ध
कप्टेराले सेल मिलाए झैं मिलेका सम्बन्ध
मन्दिराका घण्टी, सुस्केरा हालिरहेको नदी
सरासर रङ्गिएको प्रकृति छोडेर जानुपर्ने चेलीको जात
लाग्छ म छु र पो त मेरा सपना छन् ।

हो पूर्व जन्मको पैंचो तिर्न हिंडेकी म
जिन्दगीले लामो सुस्केरा हाले झैं लाग्छ ।
निर्वाह गर्न हिंडेको म, दौडको भुमरीमा परे झैं लाग्छ ।

अनायासै आँखाबाट मोटी झरिदिन्छन् ।
लाग्छ म छु र पो त मेरा सपना छन् ।

(डिसेम्बर , २०२  मा आयोजित 'नाफा-साहित्य साँझ २०' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment