Saturday, November 17, 2018

कविता : नियति परदेशिको

~राजेन्द्रप्रसाद अर्याल~
                                                
झुसिलो यो बर्तमानमा
आफ्नो त परै जावस
पूर्खाहरुले आँफैलाई
रगतमा चोबल्दै
समयको कुचिले निर्माण गरेको
राष्ट्रकै सिमानाको सुरक्षा छैन
पराइको जाउलोमा हुर्केकाहरू
गरिविको अलख जगाएर


बिकास-निर्माण र प्रगतिको
छद्म रामनामी ओढ्दै
ब्रह्मलुट मच्चाईरहेछन्
दूशासनहरू वस्त्रहरणमा लिप्त छन्
अस्तित्वको जोखिमपूर्ण भङ्गालोमा
देशै लड्खडाउँदासमेत
नेताहरूको अनुहारमा
भोलिको उन्नत राष्ट्रको
बिम्ब र प्रतिविम्व देखेन उस्ले ।

देशको बिप्ल्याँटापूर्ण यो अवस्थामा
अभाव र दरिद्रताको ओभरकोट भिरेर
नि:शहाय अनि निरुपाय बन्दै
दु:खको 'खुईय' सुस्केरामा रन्किँदै
डिभि भर्नेको असङ्ख्य भेलमा
समाहित भयो ऊ
राजादेखि रङ्क सबै
उतै भास्सिन तत्पर भेट्यो
पातल प्रवासमा जानलाई
प्रयास मात्र पनि नगर्नेले
जीवन नै खेर फालेको
नमिठो यथार्थ अनुवभ गर्‍यो
भिषा प्रापकको हर्षबढाईँ
नपाउनेको आँसु व्यहोर्‍यो
एउटा फूल टिप्ने कल्पनामा
अनगिन्ती काँडा टेक्दै र झेल्दै
अन्तत:
ऊ अमेरिका आईपुग्यो ।
भौगोलिक रूपमा मात्र हैन
भाषा-भेष र खान-पान
संस्कार अनि संस्कृतिको
बिपरित भेलमा हेल्लियो
हण्डर, ठक्कर र सङ्घर्षको रनाहबाट
बामेसर्न सिक्दै गयो
घडीको आदेशमा चल्ने यो समाजमा
फारु गरेर खर्चँदा पनि
समय पुर्‍याउन सक्दैनथ्यो
श्रमको वत्ति कात्दा-कात्दा
दुईचार पैसा त जोर्न सक्यो
अपितु
प्रवासीको उपनामलाई
कमाएको डलरले फेर्न सकेन
यो पराइ भूमिमा
आफ्नै छालाको रङ्गले बिझायो
भौतिक सरसुबिधा त भेट्यो
तर पूर्खाको गाथा भेटेन
र त मनग्य आर्जनपश्चात
स्वदेश गमनको कल्पनामा
कल्पिई रह्यो, कल्पिई रह्यो ।

देशप्रेमको सम्झना गर्दै
आँसुको सिरानीमा पल्टन्थ्यो
पात बजाएर सपनिमा
राष्ट्रधुन निकाल्दथ्यो
देशभक्तिको खलाँती फुक्दै
राष्ट्रप्रेमको सङ्किर्तनमा रमाउँथ्यो
बारम्बार अनुवाद हुन्छ ऊ देशसँग
माटो कै मायामा रङ्गिएको छ
गहको आँसुले त्यो रङ्ग भिजाउँछ ।

सनाहीमा बिरह पोख्दैमा
दिलको पिडा थामिएन
त्यसैले त उतै फिर्ने कुरा अलाप्छ
व्यवहारको बोझले थलिँदै गयो
उमेरगत रोगले निहुँ खोज्न थाल्यो
स्वयं शरीर शत्रु बनेर
आफैलाई गिज्याउन थाल्यो
पखेटाहरु कुँजिदै गए
आत्मबिश्वास घट्दै गयो
स्वदेश ऊ नफिर्ने भयो
फिर्ने चाहना तिर्सनामै रह्यो
अन्तत:, अन्तत:
जिन्दगीको जागिरबाट
ऊ यतै निबृत्त भयो
जीवनको प्यारो कुर्सीबाट
ऊ यतै सत्ताच्युत भयो ।
                   ***

—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार                                                           
हालः म्याडिसन,अमेरिका 

  
(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment