Saturday, November 17, 2018

छन्द कविता : मेरो देश


~मित्र पौडेल~

छन्द : शार्दुलविक्रीडित

आफ्नै देश सपार्न शक्ति युगको भाग्दै छ टाढा कतै
हामी युध्द गरेरभाइहरुमा आक्रोश पोख्छौं सधैं।
यस्तो खेल नखेल हेर युगका हे राष्ट्रका सेवक
फोस्रो धाक विभेद दुर्गति हुने बानी हटाऔं अब।।1।।

हाम्रा पुर्वजलेगरे मुलुकको निर्माण पैल्हे यहाँ
आजै देश विभेदको रटनले टुक्रा नहोस् हे हरे।
कष्टैकष्ट खपी अनेक विधिको आतङ्कको खेलले
आफ्नैको पनि औषधीविहिन भै लैजान्छ रे रोगले।।2।।

गोरो हो रुप छैन यो मन सफा हिमालझै निर्मल
जस्तो अन्ध गुफा छ जङ्गलतिरै आवास हो सुन्दर।
आओ देश विदेश बन्धुहरु हो यो आँगनी फाँटमा
नौलो स्वर्ग समान चित्र छ यहाँ खिचौं सधैं आँतमा।।3।।

ऐनाझै हिउँ टल्किदै छ अहिले सेतै रुवाझै गरी
केहीबेर सजावटै छ सरिको चम्किन्छ छानो पनि
हेरौं लौ अब यो त दुर्लभ हुने पक्का भयो देशमा
फाट्यो भन्दछ ओजनै तह अहो! भेटिन्न लौ शेषमा।।4।।

मेची फेर्छ मुहार पौरख जडी काली खुसी बन्नु छ
खच्चड्को भरियापना शहरका विश्रामले बुझ्नु छ
बोल्दै भोजपुरी कछाड पहिरी सीमा सुरक्षा गरी |
मेरै यो मिथिला गजक्क छ अहो!प्राचीन सौन्दर्यले।।5।।
(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment