~लेखनाथ काफ्ले~
लाग्छ मेरो उजाडिएको सिउँदोले मलाई गिज्याउँदैछ
सिथिल बन्दै गएका हातगोडाले मलाई धिक्कार्दैछ
ओभानो हुन नसकेका आँखाले धमिलिएको संसार हेरिरहेछु
अझै समाज नै म तिर फर्किएर मलाई दिनदिनै सराप्दैछ
मन भक्कानिरहन्छ, बिरह पोख्ने ठाउँ छैन
हिजोको मेरो गाउँ, आज मेरो गाउँ हैन
हिजोको मेरो नाम, आज मेरो नाम हैन
हिजोको मेरो नाता, आज मेरो नाता छैन
त्यसैले बहुलाही जस्तै भएर चिच्याउछु
संसारलाई सुनाउन चाहन्छु
म पनि तिमी जस्तै हुँ, बोक्सी हैन
मुटु छियाछिया भए झै हुन्छ-२
जब "अलच्छिनी आइ" भन्दै मेरै गाउँलेहरु मलाई थुक्दछन
म तिरै झम्टिएर गल्लीका कुकुरहरु समेत भुक्दछन
मैले पिउने पानीका मुहान नै जब मेरो लागि सुक्दछन
अनी पहिले छोएका, देखिएका वस्तुहरु आज मेरो नजरमा लुक्दछन
त्यसैले त बहुलाही झै भएर चिच्याउछु
संसारलाई सुनाउन चाहन्छु
म पनि तिमी जस्तै हुँ, बोक्सी हैन
डाको छोडेर रुन मन लाग्छ-२
जब निर्दयी मुड्किहरु मेरो निर्बल शरीरमा बज्राइन्छ
मेरै मलमुत्र जबर्जस्ती गरेर मलाई कोच्याइन्छ
"बुढो र छोरो टोकुवा" भन्दै जब गाउँ वरिपरी गलहत्याइन्छ
अनी लाशहरु जन्माउने अभियुक्त झै बनाइन्छ
त्यसैले त म बहुलाही झै भएर चिच्याउछु
संसारलाई सुनाउन चाहन्छु
म पनि तिमी जस्तै हुँ, बोक्सी हैन
हो यही समाजका शक्तिवानहरुसँग लड्न मन लाग्छ -२
जब सबै खोसिएर एक मुठ्ठी श्वास बाँकी रहन्छ
भोलिको त्यो आदर्श समाजको झिनो आश बाँकी रहन्छ
अन्धबिश्वासरुपी डढेलो लागेको बस्तिमा
चेतनाको बिज उमार्ने पलास बाँकी रहन्छ
अनी एकदिन यो कुसस्कार हट्ने छ भन्ने आभास बाँकी रहन्छ
त्यसैले त म चुप बस्दिन
बहुलाही झै भएर चिच्याउछु
संसारलाई सुनाउन चाहन्छु
म पनि तिमी जस्तै हुँ, बोक्सी हैन
(नोवेम्बर १७, २०१८ मा आयोजित 'नाफा-साहित्य साँझ २०७५' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment