~गंगा मल्ल श्रेष्ठ~
नबल्दै निभ्नेहरु,
नउदाउँदै अस्ताउनेहरु,
यहाँ लाखौं करोडौं छन्
असङ्ख्य अनगिन्ती छन्
त्यो भींडमा म हराउन चाहन्न
नबल्दै म निभ्न चाहन्न
नउदाउँदै म अस्ताउन चाहन्न ।
मुलाधारमा गडेको जीवन
बिस्तारै माथि उठाउनु छशुशुम्नाको बाटो पहिल्याएर
स्वाधिष्ठानमा उदाउनु छ
मणीपूर हुँदै अनाहतमा
आज्ञालाई बिशुद्ध बनाउनु छ
शीरको शहस्रदलमा
जीवनको सार पुर्याएर
प्रचण्ड भै एकदिन बल्नु छ
हजारौं सूर्यको तेज प्रकाश भै
एकदिन आफै उदाउनु छ ।
राम उदाए कृष्ण उदाए
बुद्ध उदाए जिजस उदाए
खै कहाँ को को उदाए
जहाँ जो उदाए पनि
आफै नउदाई
जीवनको अर्थ भेटिन्न
स्वयं आफै नबली
मन भित्रको अँध्यारो मेटिन्न
त्यसैले,
नबल्दै म निभ्न चाहन्न
त्यसैले,
नउदाउँदै म अस्ताउन चाहन्न ।
(नोवेम्बर १७, २०१८ मा आयोजित 'नाफा-साहित्य साँझ २०७५' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)
No comments:
Post a Comment