Saturday, November 17, 2018

कविता : मूर्ख र बालक

~अविमन पसछें~


खेल्दै थियो साना नान्नानी
थोरै धेरै गर्थ्यो मनमानी
सुत्र लागु हुने हैन मेसीनी
भयाे हल्ला जानी नजानी

“चुप” एउटा कर्कश ध्वनी   
थर्किन्छ कलिलो छाना मुनि
वालापनलाई थानेर अझानी    
मूर्खले पोख्यो आफ्नो रिसानी

हिलो मैलो बन्यो कपडा र शरिर        
 बनाउँदै थियो  माटोको आकार
घोडाको रुप दिने उस्को रहर
ऊ आफ्नो संसारको राजकुमार

“बस नचलि बस“ घोक्रो स्वर
गूँजिएर भट्कियो सुन्दर घर
दिनु थियो बालकलाई भर
जगायौ उसको मनमा डर

ईच्छा उस्को रुझ्ने संगै झरी
रोकियो देखाई त्राश नाना भाँति
नाप्ने ईच्छा उस्को ताराको दुरी          
बांध्यौ कोरेर गुम्सिने परीधि

बाल सुलभता संग दिक्क मानी
बशमा लिन्छौ खेलौना जानी
तर पुर्याईरहेछौ तालिममा हानी
सुर्य छेकी दिंदैछौ अंध्यारो विहानी 

बाँध तरेर आखिर तल बग्छ पानी
बालकको हुन्छ सिकारु बानी
दोहर्याउन नखोज असफल कहानी
भविष्यमा होला परिणाम आत्मग्लानी

लड्न देऊ उठ्न देऊ सिक्न देऊ
कोपीलालाई घाममा फक्रन देऊ
मूर्ख हुन्न बालक यो सृस्तिको भेऊ
मूर्ख बनाउने तिमीले हो जानीलेऊ

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment