Saturday, November 17, 2018

कविता : ज्वाईं


~डा. बेङ्कटेश दास शर्मा~

आजभोलि ज्वाइँ बन्न भएको छ गाह्रो
गरिबको विवाहको बाटो भयो अझै ठाडो
धन्य छ ईश्वर ! जुराइदियौ मलाई
समयमै बनाइदियौ कसैको ज्वाईं।

ससुराली जाऊँ-जाऊँ लागी राख्ने रहर
गाउँ, बेसी, पाखा छली पसिएछ सहर
जहाँ छैन कत्ति पनि श्रीमतीको कहर
ज्वाइँ बनेर राम्रै गरिएछ भन्ने रह्यो ठहर ।

सासू-ससुरा घरमा आउँदा मन हुने प्रसन्न
दैनिकी सरल, आफू कुर्सीमा आसन्न
श्रीमती पनि साह्रै खुसी, छैन कोही खिन्न
ढिला नगरौं ज्वाइँ हुनाको उपलब्धि चिन्न।

पाली-ताली सुम्पिने यी सासू-ससुरा
केही समयसँगै बसी फर्किगए जून-तारा
साहित्यिक विवेचना ससुरासँगका कुरा
अझै गुन्जिरहेछ कानमा सासूका हातका चुरा।


(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment