Saturday, November 17, 2018

कविता : 'म'को अर्थ


~विश्वजित अधिकारी~

म मेरो कथाको राजकुमार 'म'
शब्दको अर्थ कसलाई सोधुँ भन्छु ।
म को हुँ, म कहाँ छु, म कस्तो छु
साँच्चिकै 'म' म नै हो त ।

सबै भन्छन् 'म' आफू स्वयं
एउटा मात्र म हो ।
तर म भन्छु 'म' दुईवटा म पनि हो
एउटा म दुरुस्तै म जस्तै हो
अर्को म उस्तै अरुहरु जस्तै हो ।
आफ्नै संसारमा रमाउने कल्पनामा
हराउने अपरिचित यात्री हुँ म ।
आफू भित्र कमै 'म' अरुसँग धेरै रहने
आफ्नो भन्दा अरुको बारेमा सोंच्ने
मन पनि हो एउटा 'म' ।।

अथवा 'म' अरु नै केही हुँ
अरुभन्दा बेग्लै अल्ली फरक
कि म बादलले छेकेको अनन्त आकाश हुँ ।।

कि म हल्लाहरु माझको
नसुनिएको सङ्गीत हुँ ।
कि म भिँडहरु माझ लुकेको अस्तित्व हुँ
म कतै लेखिएर नपढिएको
कविता त होईन ? म को हुँ ।।

कतै म चिन्तनहरु बिचको
सुन्यता त होईन ।
कतै म सपना विहिन निन्द्रा
भित्रको मौनता त होईन
कतै म मेरो आफ्नो मसँग
'नलेखिएको साईनो' त होईन ।।
म को हुँँ ? के हो 'म'को अर्थ ?  

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment