Saturday, December 10, 2022

कविता : एउटा गुलाफको फूलको 'ठाउँ-खालि' भई दिँदा

 ~डा. हेमन्त कुमार श्रेष्ठ "अविज"~

 थाहा छैन कहिले देखि थालेछु सजाउन,
उनैको चित्र भित्र मन-मन्दिरमा ।
तर, सकिन कहिल्यै पनि पोख्न,
प्रेमका भावहरू उनको समिपमा ।।

आफैलाई खोजे झैं लाग्दथ्यो,
नजरले उनको साथी-संगी माझमा ।
सपना सबै साकार भए झैं लाग्दथ्यो,


अनायस दुई-आँखा चार हुँदामा ।।

साह्रै भयो, भेटेर सबै मनको वह,
विसाउन चाहेथें उनकै पोल्टामा ।
घाँटी भारी अटस्-मटस् ओइरो शब्दहरूको,
ध्वनी-स्पन्दन् नपाई भएथे अवसान यही छातिमा ।।

असमन्जस अनि वेहाल अति भयो भनि,
भावनाको प्राण भर्न खोजेथें शब्दहरूमा ।
जसै सजिव बन्दै गए एक एक शब्दहरू,
उसै पंख लगाई उडेर गएथे कल्पनाहरूमा ।।

फेरी पारी निहुँ एक 'शुभ-कामना' पत्रको,
खोजेथें दिन प्रेम-सन्देश मात्र दुई-चार हरफमा ।
उफ ! प्रेम गर्छु भन्न किन हो यति गाह्रो ?
मिलेन कसै सफलता 'अढाइ-अक्षर' को जुगाडमा ।।

कैयन् पत्झड् अनि शरद आए-गए छन्,
अनेकन् प्रयास अनि असफलताको बिचमा ।
यौवनले पनि डाँडा पारिको घाम झैं,
खोजेछन् लिन विश्राम अविरल यो जिवनमा ।।

सम्झन्छु अहिले राखेर दिन सकेको भए,
एउटा गुलाफको फूल 'शुभ-कामना' पत्र बिचमा ।
या त वहाना एक बनाई थमाई दिएको भए,
एउटा गुलाफको फूल 'कोरा-कागज' को साथमा ।।

शायद, गुलाफका प्रत्येक पत्रदलहरूले,
मनका वह सबै एक-एक कहि दिन्थे होलान् ।
गुलाफका ती वसन्ती रंगहरूले,
वसन्त-वहारको सन्देशा सुनाई दिन्थे होलान् ।
गुलाफको त्यो कस्तुरी वासले,
आउने मधुमासको भरोसा दिलाई दिन्थे होलान् ।
अनि, काँडाको त्यो गुलाफी चुभनले,
रोमाञ्चित् क्षणहरूको आभास गराई दिन्थे होलान् ।

कठै, आज पनि मेरा अमूर्त प्रेम-भावहरू,
खेल्छन् अझै लुकामारी उनैको चित्र संगमा ।
केवल एक गुनासो मेरो प्रेम-कथा रह्यो अधुरो,
बस् ! एउटा गुलाफको फूलको ‘ठाउँ-खालि’ भई दिँदामा ।।2

(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९'मा वाचन गरिएको अप्रतियोगी कविता)  

No comments:

Post a Comment