Saturday, December 10, 2022

कविता : प्रतिक्षा

~अर्चना धाख्वा~

बसन्तमा पलाएको
झर्यो फूल फक्रेर
हरिया पात ओइलि सुकी
रहे हाँगामा कक्रेर
सिंगो ऋतु बित्त्दा पनि
तिमि आएनौ फर्केर

दिन छोटिन थालियो
रातको प्रहर लम्बेर
बिपना धमिलो हुँदै गो
सपनामा आँखा अल्झेर
बाचा छिटै भेट्ने थियो
तिमि आएनौ सम्झेर

मकैको घारी मैदान भो
कृषकले बालि काटेर
मुटुमा व्यर्थको पीडा भो
नजानी पिरती साटेर
आशुको भेलले बोलाउँदा पनि
तिमि आएनौ आँटेर।

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment