जिन्दगीको बहाव पनि कस्तो
परिवर्तन भईरहने भाव पनि कस्तो
हावामा भुवा उडे जस्तो
पानीमा रुवा डुबे जस्तो ।
बालापनमा सारा संसार जित्छु लाग्थ्यो
सपनामा बाच्थिएँ डर सबै भाग्थ्यो
म सही बाँकी सब पछी छन् भन्ने भान हुन्थ्यो
आफ्नो अनी साथीको कुरोको मात्र मान हुन्थ्यो ।।
यौवनमा मग्मगाउने अस्तित्व देखाउने रहर हुँदोरहेछ
हिम्नदी भएपनी आफैलाई नचिनेर नहर भाईंदोरहेछ
कहाँ कस्लाई के भो के हुँदैछ वास्ता थिएन
संसारमा टन्नै गुदी छ ठान्थिएँ तास्ता थिएन ।
नियम चिनें निती सिकें जिन्दगीको नाता बुझें
सम्बन्धको नाफा नोकसानको खाता बुझें
अबिरल बग्ने खोला कहीं बाँधले रोक्दो रहेछ
रोकिएर आँफैमा मन्थन गरी उर्जा अझै थप्दो रहेछ ।
जसै समय बढ्थ्यो सोच मेरो पाक्दै गयो
बुझ्दै भावना चिन्दै रीत, मन जाग्दै गयो
साथहरु चाउरिंदै खुम्चिँदै कम भए
सङ्गालेका अनुभवहरु अगी बढ्ने दम भए ।
मनिसका कुरामा मौनताको चुकुल लाग्यो
आरोपको मर्दन छोडी मुस्काउनु अनुकुल लाग्यो
फूललाई पर्दा भमरा कहिले पो सङ्गै थियो र
मुर्ती सजाएर सुन्दरताको श्रेय कहिले पो लियो र ।
चुनाव गरेर आफूलाई सकारात्मकताको घेरामा लुकाएँ
प्रसन्साको न्यानो हटाइ मित्रताको रापमा सुकाएँ
आफू मै रम्दै छु अचेल छोडेर पुराना बातहरु
सानो घेरामा हराउँछु अचेल छोडेर ठुला खातहरु ।।
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)
No comments:
Post a Comment