Saturday, December 10, 2022

कविता : जीवन

~गणेश श्रेष्ठ~

जन्म र मृत्यु बिचको सपना हो जीवन
आसा र अभिलाषाले भरिएको यथार्थ हो जीवन
भोग्न जाने खुसिनै खुसिले भरिएको
भोग्न नजाने दुख र दर्दले दरिएको

सानो छउन्जेल ठूलो हुने आशामा
यौवनमा पुगेसी सफलता चुम्ने अभिलाषामा
एक पाइलो अघि बढ्दै गर्दा शिखर पुग्ने चाहनाले
अल्छी र निराश हुँदा अभाब र परिस्थितिको बहानाले



कहिले बिजुली चम्केको गतिमा खुसिले बोलाउदा
कहिले दुख र पिडाले कहिले नउठ्ने गरि लोलाउदा

साथी सङ्गी लामो यात्रामा निस्केका यात्री जस्तै भेटिने र छुट्ने भैरहन्छ
कहिले एउटा सङ खुसी कहिले अर्को सङ झगडा यात्रा सङै गैरहन्छ

माया के हो प्रेम के हो भन्ने अर्थ नजान्दै
जीवन कहाँ सकिन्छ थाहा छैन
प्रेमको लागि योग्य नठान्दै

पैसा,शक्ति र इज्जतको पछि पछि कुद्दकुद्दै
कति खेर पछारिने हो थाहा छैन
आफ्नो खुट्टामा राम्ररी नउठ्दै

जन्म र मृत्यु बिचको सपना हो जीवन
आशा र अभिलाषाले भरिएको यथार्थ हो जीवन
 

(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment