सबैले भन्छ्न् मलाई खाते - २
मेरो जीवन संगै पाएको मैले यो नाम,
गाँस बासको कुनै ठेगाना छैन मेरो
भौतारी रहन्छु गन्तब्य बिहिन भई, छैन मेरो केही काम !
दुई छाक टार्न पाइन भने
हात फैलाउँछु सडकको पेटिमा बसी,
दु:खै दु:खको समुद्रमा डुबिरहेछु म
आभाष छैन रत्तीभर, कस्तो हुन्छ खुशी !
बोरा ओढी सुत्छु शहरको चिसो सिंढीमा,
रातभरी आकासका जून, तारा हेर्छु
त्यहि चम्किरहने तारामा
मेरो जन्मदाताको प्रतिबिम्ब खोज्ने प्रयत्न गर्छु !
रहर हैन मेरो सडकमा जीवन ब्यतित गर्ने
परिस्थितीमा बाँधिएको छु म,
मान्छेहरुकै भिँड्भाडमा रहेपनी ,
नितान्त एक्लो भएकोछु म !
मान्छेहरुको तिरस्कार र दुर्ब्यवहारमा
कुल्चिएको किरा सारी भएको छु,
दिनरात रुमल्ली हिंड्ने भुस्याहा कुकुर जस्तै
बाटो बिराएर अल्मल्लिएको छु !
जिन्दगी त दियौ तिमीले दैव मलाई
तर जिउन आवश्यक माया मैले पाईन,
सबैको आँखाको कसिंगर भएको छु म
लाग्छ अब म यो स्वर्थी संसारमा अटाउँदिन !
एउटा सास धान्ने आशामा दिनदिनै मरिरहेछु
जानी-नजानी यो समाजमा अटाउने प्रयास गरिरहेछु,
हो म खाते आत आफ्न परिचय खोजीरहेछु
हो म खाते दिनरात सडकमा भौतारी रहेछु ! - २
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)
No comments:
Post a Comment