~राजेन्द्रप्रसाद अर्याल~
म परदेशिँदा
मात्र म होइन
दिदीको भाइटीका परदेशियो
बहिनीको तिहार बिदेशियो
नयनभरी मोती टल्काउँदै
दुबै भाबुक बने होलान्
मखमली, सयपत्री र गोदावरी
अनी टपरीभरी नाना परिकारहरु
मेरै प्रतिक्षामा
सबै सबै
ओइलाउन विवश होलान ।
आज मलाई
माटोको सुगन्धले
भित्रैदेखि पगालीरहेछ
दिदीको आशिर्बाद मात्र
कानमा गुन्जिरहेको छैन
बहिनीको मलिन मुहार देखिरहेछु
तिहार सम्झनुको सन्निपातमा
छट्पटाईरहेछु
खोज्छु यत्र तत्र तिहार
शून्य शून्य, सर्वत्र शून्य ।
मन बुझाउने प्रयत्नमा रहन्छु
यस्तै नै हो
संस्कार र संस्कृति
सभ्यता अनि राष्ट्र नै
पराई ब्यहोर्न परेपछि
न त हाँस्न सक्छ द्यौसी भैलो
मेची काली बनेर
न त टाँगिएका नै देखिन्छन्
लामा लामा फूर्के तोरणहरु
पहाडका थुम्का थुम्काहरुमा
झल्किएनन् निधारहरुमा
सप्तरङ्गी टीकाका घामहरु
यथार्थमा आज
जन्मभूमिभित्र नहुनुको पीडा
ओकलिरहेछ समयले ।
संस्कृतिको छाप न हो
परदेशै किन नहोस
मातृभूमिको स्मृतिभित्र गुडिल्किदै
भक्तिरसको गाथा गाउँदै
कोटमाथि कन्याउँदाको
आनन्द मात्रमा पनि
अनि कर्मकाण्डी प्रकृया
पुरा गरेरै भए पनि
कतिपयले मनाए तिहार
हृदयको सन्दुकभित्र
भकभकी संस्कृति उमाल्दै
फैलाए परदेशमा सुवास ।
तर, तर
भगिनीकै मुस्कानको अनुपस्थितिमा
साख्खै दिदीको
प्रत्येक्ष आशिर्बादको अभाबमा
मैले मनाउन सकिन तिहार
माफ देउ, क्षमा गर
केबल
भित्तामा झुण्डिएको क्यालेण्डरमा
प्यारो तिहार संझेर
भाबुकतामा पग्लँदै
फगत अनुभूतिमात्र गरिरहेछु
बिदेशमा आज
संस्कृतिको महत्ता मात्र होईन
गहिरिएर आफ्नो देश पढदैछु
परदेशिनुको प्रचण्ड ज्बरोले
निष्लोट छु, निष्लोट छु ।
नोभेम्बर ११, २०१३
***
—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार
हालः म्याडिसन,अमेरिका
No comments:
Post a Comment