Saturday, November 16, 2013

कविता : आर्तनाद

~सीता अर्याल 
               
जीवनबृत्तिका लम्पसार फाँटहरुमा
एक्लो परेकी पहाडे चेली
सिन्दुर पखाल्न वाध्य बन्छे
प्रणयमिलन पश्चात पहिलो पटक
बिछोडिएका दुई प्राणी

पूनर्मिलन हुन नपाउँदै
सेता पहिरनमा लपेटिन्छे
एक बीस वसन्त पार नगर्दै
प्रलयको भुमरीमा घोक्रिन्छे
काँश झैँ फुल्न अभिसप्त छे ।



अलाप विलापको कुनै सिमा हूदैन
उसको चित्कार छाप्रो अगाडीको पहाडमा
ठोक्किएर प्रतिध्वनित हुन्छ
सायद, सान्त्वनाका अभिव्यक्ति हुन कि ती
कसैले भेउ पाउँदैन ।

अनगिन्ती सपनाहरु साँचेर
परदेश पसेको प्रियतमको
प्रतिक्षामा दिन गन्दा गन्दै
प्राण पखेरु उतै छाडेर फर्काईएको
निश्लो शरीरसँग साक्षात्कार भई उ
कोपिला पूmल पनि हुन नपाउँदै
तीलहरी बन्धनमा कस्सिएकी विचरी
एक्लै काखे चिचिलो सम्हाल्दै
आर्तनाद र अत्यासको भुमरीमा
निसाँसीदो जीवनबृत्ति जिउन
बाध्य भएकी छे  उ ।

ए राराका पानीजस्तै
स्वच्छ ममताका प्रतिमूर्तिहरु
अब एक कदम अगाडी बढन सीक
निसङ्कोचतापूर्बक नयाँ जीवनका
डोबहरु आफैले खोप
आधुनिक चिन्तनको नरम बिच्छ्यौनामा
फक्रन देउ गोदावरी बैँशलाई
लोकोक्ति र कुसम्स्कारको भयमा
कलिलो निन्दगी नखुम्च्याउ ।


—सीता अर्याल, म्याडिसन,अमेरिका
 नोभेम्बर ११, २०१३

No comments:

Post a Comment