म्याडिसनमा नेपाली साहित्यमा रुचि राख्ने दुइचार साथी मिलेर हरेक तिन तिन
महिनामा कोठे कवि गोष्ठी गर्ने प्रचलन छ । यो प्रचलन सुरु गर्ने श्रेय
आदरणीय दाजु दिनार श्रेष्ठ, जो कवि, लेखक, अनि नेपाली साहित्यका अनुरागी
हुनुहुन्छ, उहाँलाई जान्छ । यो गोष्ठी पालै पालो गर्ने क्रमःमा केहि
हप्ता अघि मे २६, २०१३, आइतबारको दिन मेरो डेरामा आयोजना भएको थियो ।
मेरी आमा, मेरी जीवनसाथी बिन्दु अनि म कार्यक्रमको लागि भोजन तयार
गर्न बिहानैदेखि लागिपरेका थियौं । मेरी पन्ध्र महिनाकी छोरी काव्या
लामिछानेले भान्सामा सहयोग त गर्न सक्ने त कुरै भएन तर कैले के पोखिदीएर,
कैले के छरिदिएर, भान्साको काम सारै रोचक बनाउने गर्छिन् | हाम्रो
परिवारसंग नजिक बहिनी डा समी खनाल, जो कार्यक्रममा श्रोता भएर सहभागी थिईन,
उनले कार्यक्रमको लागि खाजाको तयारीमा पनि निकै सहयोग गरिन् |
कविता भन्ने मात्र होइन कथा, गीत, चुटकिला या अन्य कुनै रोचक सामग्री
प्रस्तुत गर्ने, अनि सुन्न इच्छा राख्नेमात्र पनि सहभागी हुने कार्यक्रमको
चलन छ | आफैले लेखेको कविता भन्नेहरूमा अविमन पसछें, आविस्कार भारती,
दिनार श्रेष्ठ र म थियौं | डा नरेन्द्र थापा दाईले कसरी आफु कलेज पढ्दा
आफ्नो एउटा साथी प्रेममा परेर कविता लेख्न थाल्यो भन्ने किस्सा सुनाउनु भयो
| डा राकेश मण्डल दाईले गितार बजाएर गीत सुनाउनु भयो | सुरेन्द्र प्रजापती
भाईले गणितीय हाजिर जवाफ ढाचाको प्रश्न सोधेर सबको मन जित्नुभयो |
बिन्दुले आफ्नो एउटा साथीले लेखेको प्रेम सम्बन्धि मुक्तक सुनाएर नरेन्द्र
दाईको साथीको किस्सालाई झन् टेवा दिईन |
मेरी आमा एक बर्षको अमेरिका बसाइपछि पर्सिपल्ट नेपाल फर्कदै
हुनुहुन्थ्यो | ‘मेमोरिअल डे’ साता परेकोले बिन्दुको भाई, अच्युत
तिमिल्सिना, पनि डि. सी. देखि भेटघाटको लागि म्याडिसन आएका थिए |
कार्यक्रममा धन मल्ल, राजिव कर्ण, सुष्मा कर्ण, देबकी आले, रन्जिता मण्डल,
युजेन थापा र अर्यमन मण्डलको पनि उपस्थिति थियो | कार्यक्रमको अन्त्यमा
दिनार दाईले डामाडोल डट कम बाट साभार गरिएको शैलेन्द्र सिम्खडाको ‘सून र
स्वास्नी’ भन्ने कविता बाचन गरेर सबैलाई हसाउनु भयो | कार्यक्रममा सुनाइएका
तीन कविता तल पेश गरेको छु |
(सभार : सन्तोष लामिछानेको ब्लग)
No comments:
Post a Comment