Saturday, November 16, 2013

कविता : शब्दहरु

~सोम खनाल~

शब्द नै रसिला कस्ता,प्यास नै पो मेटाउने
शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने
शब्दका छहारी शीतल, शब्दैका झरना झरी
एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी ।


शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा
शब्दले डढेलो लाग्छ, शब्द उम्रन्छ अंकुरा
शब्द लगाएर पैंचो, उधारो बाच्छ जिबन
शब्दैका मोहनी,माया, सपना साँच्दछ मन ।



नि:शब्दै भएर मार्छन् कती शब्दका मारले
शब्दैले ओखती गर्छन् उठ्छ्न् शब्दका सारले
शब्द शब्द सिलाएर बन्दछन् शब्द-वस्त्र रे,
ब्याधालाई गलाउने शब्द अचुक अस्त्र रे !


शब्दका खुट्किला उक्लि चुट्किला पो सुनाऊँ कि !
शब्दकै सुरमा बग्दै गीत पो गुन्गुनाउँ कि !
उथलपुथल भई कहिले शब्द सिगौरी खेल्दछ्न्
गुम्सेका भावनालाई भित्रैबाट पो ठेल्दछ्न् ।


शब्द मिथा भए देखी हृदयै हुन्छ गद्गदी
ति शब्द भईदिये तीता मन काट्दछ कट्कटी
शब्दैमा घुम्दछ विश्व, सारा सृस्‍टि चराचर
शब्दै हो रहने आखिर, मरेर लानु के छ र ?
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा दोश्रो  हुन सफल कविता)

No comments:

Post a Comment