कलिलो बुद्धीमा काँचो रहर पलाउँदा
साथी संगीको देखासिकीमा
सपना टिप्ने रहरले तथा
भविश्य निर्माण गर्ने सोंचमा
लामो यात्रामा हिंडेकी म प्रवासी
फूलैफूलको बगैंचा पुग्ने आशामा
उज्यलै उज्यालोको बाटोबाट
मखमली पाईला चाल्दै
स्वर्गकी परी जस्तै बनेर
तर खै,
काँडा बिनाको फूलको बगैंचा
अँध्यारो बिनाको उज्यालो
बर्तमान बिनाको भविश्य
मुटु बिनाको मन
अत्यास लाग्दो कोलाहल बिच पनि
एक्लै एक्लै
छट्पटिन्छ एकनाशले
अपनत्वको खोजीमा
लाग्छ जुनै जुनको देशमा
एक प्रहर घामको खाँचो छ ।
तारै ताराको देशमा
एक पूर्णिमा जुनको खाँचो छ ।
उज्यालै उज्यालोको देशमा
एक औंसी अँध्यारो भईदिए हुन्थ्यो
सुखै सुखको बतासे जिन्दगीमा
एक भल्को पसिना बगाउने
पखेरोको महत्व छ ।
अनि यस्तो सुख शान्ति र
अमन चयनले भरिएको शहरमा
बिना अभाव पनि
म किन रित्तो रित्तो भएकी छु
किन केही नपुगे झैं
दिनदिनै तड्पिरहेछु
सपनाको शहरमा ।।
चैत बैशाख आउँछ्न् यहाँ पनि
तर हुरी बतास आउँदैन
जेठ् असारको रापिलो घाममा
गर्मी कहिल्यै हुँदैन
न त साउनए झरीको या
भदौरे भेलको असर पर्छ यहाँ
पर्छ त केवल शरदको
चाडमय यादहरुमा
सम्झनाहरुको सुनामी आउँछ
प्रियजनहरुको अभावको भुकम्पले
मन मस्तिष्क कम्पयमान हुन्छ ।।
नवरात्रीको बढ्दो जुनसँगै
मनको अँध्यारो बढ्छ त्यसै गरी
अनि आमा-बुवाको आशिर्वाद
साथीसंगीको स्नेह
आफन्तको माया प्रेमको अभावमा
भकालीन्छ जिन्दगी
सम्हाल्नै गार्हो हुने गरी ।।
जसरी हेमन्त र शिशिरमा
हिमपातले नुहाउँछ प्रक्रिती र
मुण्डन हुन्छ हरियाली
ठिक त्यसै गरी झर्दै जान्छन
जिन्दगीका पातहरु
समयको चक्रसँगै थाहा नदिई
हरेक दिन हरेक क्षण
समयको चक्रसँगै थाहै नदिई
हरेक दिन हरेक क्षण ।।
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा प्रथम हुन सफल कविता)
No comments:
Post a Comment