Saturday, November 16, 2013

कविता : देश हराएको सूचना

~विश्वजीत अधिकारी~

सुनेको थिएँ धेरै पढेको थिएँ
मान्छे हराएको सूचना !
तर हिजो बि.बि.सी रेडियोबाट
प्रसारण हुंदै थियो
सूचना सूचना सूचना
देश हराएको सूचना ।।


हो साँच्चिकै देश भित्र देश हराएको छ रे
सडकमा माग्ने जस्तै मेरो देश हात
फैलाउँदै कराएको छ रे !
आफ्नै देश पनि परदेश जस्तो लाग्छ रे
आफ्नै भाषा, आफ्नै भेष अनी संस्क्रिति बिरानो भा'छ रे
कता गए देश खोज्ने ती साथहरु
कता हराए देशलाई डोर्याउने ती हातहरु ।।

हिजो मैले नेपाल टेलिभिजन हेरेको थिएँ
कहाली लाग्दो भएछ मेरो देश
देश भित्रै देश हराएको छ रे !
सगरमाथा र बुद्ध मेरै हुन भनेर भन्न पनि
मेरो देशको बोली लर्बराएको छ रे !
सुन्दै छु स्वयं भगवान बुद्ध पनि नागरिकता
लिन लुम्बिनी आउन लागेको
पराईले सिमाना मिच्दा पनि मेरो देश
डरले परपर भागेको ।।

हिजो मैले कान्तिपुर पत्रिका पढेको थिएँ
अनि देखें मेरो देश देश भित्रै हराएको छ रे
आफ्नै सन्तानहरुसँग पनि डराएको छ रे
कोही सन्तान भन्छन् रे बाजेको सम्पत्ति काँक्रा जस्तै चिरेर खाऔं !!
कोही सन्तान भन्छन् रे पूर्खाको सम्पत्ति फर्सी जस्तै फाडेर भाग लगाऔं !!
हिरा जस्तो देशलाई किरा लागेपछी
एउटै आमाका सन्तानहरु चिरा लागेपछी ।।

हिजो मैले कसैले नाटक मञ्चन गर्दै गरेको देखें
साँच्चै देस्खियो देश देश भित्रै हराएको छ रे !
शहिदहरुको सपनामा गाली गरेको देखेर
मेरो देश निद्रामा पनि बर्बराएको छ रे !!
शहिदका तस्विरहरु मौन शालिकहरु बोल्न खोज्दैछ्न्
अनि देशलाई सोध्दै छ्न् खोई हाम्रा सपनाहरु पुरा भएको
किन हाम्रा वाचाहरु खेर गएको ।।

हिजो मैले कसैले कविता लेख्दै गरेको देखें
हो जस्तै लाग्यो मेरो देश देश भित्रै हराएको छ रे !
कहिले बिको नहुने अशन्तिको घाऊले
मेरो देशलाई चह्र्याएको छ रे !!
म जन्मिएको, म हुर्किएको मेरो देश कस्ले लग्यो
कस्ले लुछ्यो, कहाँ गयो, कहाँ हरायो ।।

अब एउटै मात्र बिकल्प छ भगवान पशुपतिनाथ
तिमी पनि केही बोलिदेऊ, होइन भने हामीलाई तिमी चहिनेछैन !
यस्तो एउटा दिन नआउला भन्न सकिँदैन त्यो
दिन हामी नेपाली भएर पनि नेपाली हौं भन्न पाईने छैन ।।

(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा तेस्रो स्थान ओट्न सफल कविता)

No comments:

Post a Comment