Saturday, November 16, 2013

कविता : हाम्री म्याडिसन

~हिमाल प्र. रेग्मी~
 

कुकुना भन्दा पहिले कोपिला झुलाउने, पात भन्दा पहिले फूल फुलाउने,
बिहानीदेखि साँझसम्म फूलको सुवास छर्दै, वसन्ती छटा मुस्कुराउने,
टाढा–टाढा क्षितिजसम्म उस्तै उस्तै, जत्ति हेरे पनि आँखा नअघाउने,
वल्लो डाली  र पल्लो डाली, मगनमस्त भै चराहरु चिर्विराउने, 
फूलै फूलको सिङ्गो संसार, यी हुन हाम्री वासन्ती म्याडिसन ।। 


उन्मत्त हरियालीमा मदमस्त भै पवन सन–सनाउने, 
चौर, बगैंचा र ताल किनारहरुमा, उन्मुक्त बैंसको बिस्कुन सुकाउने,
अलिकति शीत, अलिकति ताप, न जाडो न गर्मी 
बाल बृद्ध सबै सबै घर बाहिरै रमाउने, न लामो न छोटो दिन
अन्त्यहीन हरियालीको संसार, यी हुन हाम्री गृष्मकालीन म्याडिसन ।। 

 
बिहानी भन्दा अगाडि नै घाम उदाउने, साँझ भन्दा पछिसम्म दिन झल्मलाउने,
कहिले चक्रवात भै उनन्चास वायु हुन–हुनाउने, 
कहिले सात सूर्य एकै पटक शीरमाथि भर–भराउने,
वयस्क, परिपक्व कालो कालो हरियाली, फलहरुले लटरम्म वनका डाली
सुक्खा ज्यादा बर्षा कम, यी हुन हाम्री बर्षाकालीन म्याडिसन ।।


इन्द्रधनुषी पातहरुका सुन्दर आँचलमा, अलिकति प्रौढता, अलिकति उदासिनता छचल्काउँदै,
पाक्न आँटेका फलहरुले लच्किएका हाँगालाई, झर्न थालेका पातहरुले छोप्न नसकी 
बर्षा पनि भुल्न नसकेकी, हेमन्त पनि बोलाउन डराएकी 
वन उपवनका सप्तरङ्गी लता वृक्ष, आँखा भरी लुकाइरहूँ झैं लाग्ने
ओईलाउँदै गएको सूर्यको किरणसँगै, यी हुन हाम्री शारदीय म्याडिसन ।।


ध्रुवीय वायुको कठोर सिरेटो र शुष्कता सहन नसकी 
आफ्नै सुन्दर फूल, पात र फलहरुको भार वहन गर्न नसकी
सबैलाई आफ्नो शरिरबाट मुक्ति दिएर, अर्धमृत वन उपवन बोकेर
याहेरा र विङ्ग्रामा बिरहको आँसु बगाउँदै, शोकमग्न झोक्राई रहेको
प्वाँख झरेको बुढो पंक्षि जस्ती, यी हुन हाम्री हेमन्तकी म्याडिसन ।।


पात विहीन जिङ्ग्रिङ् पतझड र कहीं कहीं कोणधारी छातीमा लिएर
कहिले मनमोहक हिमपात गराउने, कहिले कठोर हिम–आँधी गड्गडाउने
कहिले पर क्षितिजमा पिल पिलाउँदो सूर्यको सानो भकुण्डो देखाउने
हिउँले कठ्ङ्याङ्ग्रिएका मेन्डोटा र मोनोना दुई शुष्क आँखा लिएर 
विक्षिप्त विधुवा झैं वसन्तको बाटो कुरीरहिछन् हाम्री शिशिरकी म्याडिसन ।।
 
(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)

No comments:

Post a Comment