Saturday, November 17, 2018

कविता : मेरो सानो नेपाल

~अप्सरा गिरी भारती~

प्रवासमा रहेर
समयसँगै बहेर
आस्थाको पिर्कामा बसेर
नेपाली आत्मियता पस्केर 
नेपालीपन हुर्काउँदै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल । 

परीबेशबाट निर्मित भरङ्गहरु
जीवनका असिमित तरङ्गहरु
सँग पैंठाजोरी-लुकामारी खेल्दै
आमाको न्यानो काखमा लुटुपुटु गर्ने चाह साँच्दै
उस्का चिनोहरुका माझ मातृत्व खोज्दै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल । 

दूरदेशमा पहिचान आफ्नो खोज्दै
आफ्नाहरुको मोठो मित्रता रोज्दै
भक्कनिएको साउन अटाए झैं मुटुको तरेलिमा
सपना आकाश जत्रै अटाएर सानो परेलिमा
देशको गँठिलो बन्धनले बाँध्दै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल । 

निर्बाद उडेर क्षितीजका हिमाल छुने कल्पनाहरु
हिउँमा लडीबुडी गरेर देशको ममता पिउने तर्कनाहरु
साँच्दै तराईका पहेँला तोरीबारीमा झुल्ने ति अबिरल सम्झनाहरु
भुल्दै परदेशको चिसो हिउँमा कठयाङ्ग्रिएका बिपनाहरु
सुमधुर सङ्गीतमा आत्मियताको राग आफ्नो थप्दै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल ।

चराको चिर्बिरसँगै देश अपलक पोखिन्छ
मन भित्र मायाले याद सँधै सिंचिन्छ
कुवाको मिठो पानीसरी रसाउँछ देश मेरो
सजाउँछु घर परदेशको सम्झेर देशको सेरोफेरो
आजन्म ऋणी छु प्रित भक्ती तिम्रै गर्दै  
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल ।

बाबाको चाडपर्वमा प्रश्न एउटै दोहोरिन्छ
आमाको अवाक आँखा प्रश्नमै निन्याउरिन्छ
कहिले टुङ्गिन्छ बनवस तेरो छोरी ?
फर्किन्छेस् कहिले जञ्जाल त्यो तोडी ?
मौन म बस यो भन्छु , नबस्नुस् दिनहरु गन्दै
म, सानो नेपाल यतै बनाउँदै छु हरेक दिन अचेल ।

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment