Saturday, November 17, 2018

कविता :अङ्गुर र लङ्गूर को जोड़ी

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

उनी मधुवनकि मयुर पङ्ख
 तँ रबर ब्याण्डको चुङ्गी
 उनी रेशम झैं मुलायम
 तँ खद्दरको खस्रो लुङ्गी
 उनी महासागर झैं सहनशील
 तँ उर्लँदो खहरेको भेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी महाकविकी सकुंतला
 तँ ऋषी धमलाको हमला

 उनी कोमल कमल समान
 तँ काँडे सिउंडीको गमला
 उनी ईम्पोर्टेड पाउडर क्रिम
 तँ लोकल चमेलीको तेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी लुम्बिनीको शान्ती वन
 तँ माछा बाज़ारको हल्ला
 उनी सिंहमरमर की ताजमहल
 तँ अोथारो बिग्रेको चल्ला
 उनी द्रुत गती को बूलेट ट्रेन
 तँ जनकपुरको पत्रु रेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी चन्दन वनको सुगन्ध
 तँ भुइ कटहरको छाला
 उनी मोहनी काञ्चन काया
 तँ ओम पुरी को गाला
 उनी ज्ञान गुण की उद्धरण
 तँ लोद्दर परिक्षा फेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी पूर्णिमाकी उजेलि जून
 तँ मट्टीतेल को टुक्की
 उनी निलस्तरीय सोमरश
 तँ खोया बिरके चुस्की
 उनी आलीशान सिशमहल
 तँ भद्रगोलको जेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।

 उनी वायुपङ्खी अश्व जस्ती
 तँ चिडियाघरको भालू
 उनी अप्सरा हृदयमोहिनी
 तँ प्लटिङ बिग्रेको तालु
 सुशील मीरा र झूसिल किराको
 यो हरी विजोग प्रेमको खेल
 हैंन कसरी भयो यो मेल
 तैले पक्कै गरिस केही झेल ।
 तैले पक्कै गरिस केही झेल ।

(नोवेम्बर १७, २०१  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment