Saturday, November 17, 2018

कविता : उसले रोजेको शहर

~बिन्दू तिमिल्सिना~

निर्धारित यात्रा तय गरी, विविध दस्ताबेज सहि गरी
अनगिन्ति सपना बुनी, वायुपङ्खी चढी, पातल तरी
झरी एउटी परी अद्भुत नगरी ।

विचित्र, बिस्माती थियो - अजिब आएको उपवन
उत्तर र पश्चिम गगनचुम्बी महल, जताततै चहलपहल, दिपावली झलमल
इन्द्रको पुरी पो हो कि भनी आँखा दौडाइ वरिपरि
भेटिन्छ कि भनेर कोही आफूसरी ।

एक हूल थिए त्यहाँ
कोही बाटो बिराएका, कोही देश हराएका
कोही भर्खर फक्रिएका, कोही गलेर ओइलिएका,
सबै नयाँ सपनाको खोजीमा, सुनौलो बिहानीको आशमा ।

एकदिन उसले दिशा पहिल्याएर, आयतन जोखेर, शुभ-मुहुर्त निकालेर
बगाउन बिर्सिएका आशुहरू थाती राखेर, आफ्नो पुरानो वस्ती त्यागेर
रोजी नयाँ निवास ।

बिस्तारै.., चट्टानको हृदयमा छरिएका आत्मविश्वाससँगै
च्यत्तिएका महत्वाकाङ्क्षा टाल्ने आशमा, स्वासहरू भर्दै गई ऊ मसानमा
अन्जूली थापेर आफ्ना अङ्कुरित भोलिहरू फस्टाउछन कि भनी कुरिरही - मरूद्यानमा ।

उसले थाहा पाई - हाऊगुजीको शहर - जति बोक्रो, उतीनै खोक्रो
त्यहाँ भागबण्डामा सबथोक धुजाधुजा पारेर
मान्छेका मर्महरू त मुर्कट्टाहरूले मोलतोल गर्दा रहेछन्
आत्मबोध त संरचना र भौतिक सुखभित्रै निससिंँदा रहेछन् |

एक साँझ सहर नशामा मात्तिदा ऊ औधि आत्तिई
उसले कोलाहलमा सबैलाई गुहारी
तर उसका करुण चित्कारहरू फगत सुन्यतामा  विलिन भए
विछिप्त आत्मा, मुढो शरीर, ऊ त्यहींँ लडिरही
कठै भन्ने नि कोही भएन, तथ्याङ्कमा गनिएन |

अनि उसका इन्द्रियहरू यत्रतत्र ब्युँझिए
अब उसलाई सपना, रहर र खुसीहरूको चिन्ता भएन, नयाँ भोलि अब बाँकी रहेन ।

अर्को बिहान भयो, शहरले नयाँ काँचुली लगायो
ऊ फेरि जीवनको क्यानभासमा रङ्ग भरेर
आदित्य चाहहरूको भारी बिसाउन, अतृप्त अभिलाषाहरू सेलाउन,
जिम्मेवारीको ब्याज थेगेर
आशाको मुस्लो भएर अन्धकारमा बल्दै लम्किरही, लम्किरही  ।।


(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment