Saturday, November 17, 2018

कविता : मेरा कविताहरु

~अर्चना धाख्वा~

मेरा कविताहरु म भित्रै रोपिएका बिउहरु
सम्झना र कल्पना बिचका उब्जाउहरु
हरेश खाँदा निराशा बनेर,
आँशु झर्दा सिसा बगेर
हस्तरेखा जस्तै त्यस्तै केरिएका घाऊहरु
मेरा कविताहरु


मेरा कविताहरु मलाई  ब्युझाउन सकभर
सपना र बिपना बिचका  मेटाउन अन्तर
प्रयास गर्दा उत्साह उर्लेर,
भ्रममा पर्दा  सल्लाह फुरेर
मेरै मन-मस्तिष्कलाइ सघाउन तत्पर
मेरा कविताहरु

मेरा कविताहरु मेरै धरातलमा सिमित
भवना र यथार्थ बिचका सामप्यमा जीवित
दूरिहरुमा सन्ताप सहेर,
बेदनाका बिलाप कहेर
मलाइ तिखार्दै रहे यिनै पानाहरुमा पिडित
मेरा कविताहरु

  

(नोवेम्बर १७, २०१  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment