Saturday, November 17, 2018

कविता : समाज तिमीलाई मेरो खुला पत्र

~डा. रोशा पोखरेल~

यत्रो बडेमानको धोको
समेटिएको धोक्रे पोको
बटुलेर कुदिरहेको ढुक्ढुकी
अनि परम्परा संस्क्रिती र धर्मको नाममा
थिचिएको स्वतन्त्रताको घांटी।

सम्हालेर सम्लिएर समातेको
त्यस पोकोको हुन्छ निरिक्क्षण
बेस्सरी कसिएको गांठी खोलीखोतली खोतली हुन्छ परिक्क्षण,
धर्मले बनाएको निशाना छाप -
सुहागको सिन्दूर
घरीघरी दाम्लो झैं लर्कने
सुहागको रातो पोते
अनि गर्दन छिनाल्ने गरी भारी
सिउरिएको आशिष- सौभाग्यवती भए !

सबै छ समाज, सबै छ
भो मेरो समेटिएको पोको नखोतलिदेऊ
घरीघरी मेरो चिटिक्क परेको सिउंदोलाई
तिम्रो मान्यताको रंग भर्न नखोतलिदेऊ
यो मनमा आश्रित ईक्षाका जराहरुलाई
बस् एक पटक नजोतिदेऊ
तिम्रो धर्म र परम्पराको दायराले
भो अब नपोतिदेऊ!

बिस्वास - बिस्वास पनि कोचेकी छु मैले त्यस पोकोमा
मेरो बिस्वास, मप्रतिको बिस्वास,
उनैप्रतिको बिस्वास, हामीप्रतिको बिस्वास
त्यही बिस्वासको गेडी उनेर  लाउंछु सधैं घांटीमा
अद्रिश्य, अद्भूत, अजंबरी!
टांसेको हुन्छु मुटुको छेउ
ढुक्ढुकीसामु आत्माको छेउ
सुहागको निशानी त्यही रहन देऊ
खाली छ त्यो घांटी भनि नकोसिदेऊ
स्वतन्त्र फुलेको यो फोक्सोमा
आत्मग्लानी नकोचिदेऊ।

बिवाहको दिन फेरो लाउँदा
अञ्जुली भरिको लाभा पटकपटक
पबित्र अग्नीलाई चढाउँदा
म भित्र कुटी कुटी भरिएको
माइतीको माया फर्काएको थिएँ रे!
अन्माउँदा बिहेका आँशुका धारामा
सारा स्नेह बगाएको थिएँ रे!
 झर्न नसकी नानीमै गढेका 
केही मोतीका टुक्राहरूले पो हो कि
 अझै माइतीको लागि अगाढ प्रेमले
 मुटु भरिएर आउँदा
 ती मोतीका टुक्राहरूलाई उनेर
 फेरि त्यसै पोकोमा कोचेकी छु
 भो प्रश्न चिन्ह नलगाऊ
 मेरा आँशुका धाराहरूलाई
 नभन बिर्सीदेऊ माइती सारालाई
 नभन रहेन केही दायित्व उहाँहरू प्रति
 नभन बिर्सीदेऊ आमाको दूधको भारालाई।

बाल्यकालमा लाजको परिभाषा पनि नजान्दा
त्यो शिक्षकका हातहरूले
 लाज के हो सिकाएका थिए
 किशोरी भई लाजलाई ढाक्दै गर्दा
 सडकमा  पस्किएका भुसिया आँखाहरुले
पछ्यौरा च्यातेर लाजलाई केलाएका थिए
 जवानीलाई अङ्गाल्दै गर्दा
 राक्षसी हातहरूले फेरि लाजलाई
 उधारी उधारी सिध्याएका थिए।
 बांकी एक मुठ्ठी लाज लाई
 रफुभित्र  लुकाएर
  आज त्यसै पोकोभित्र कोचेकी छु
  सोधौला समाज,
"किन एक मुठ्ठी? बाँकी खै?"
तिम्रै बदनामीको डरमा बिलायन भई
"रफु किन? च्यातिएको किनँ?"
के भनूँ? केही प्रमाण भेट्दिनँ।
पुराना कुरालाई किन खोतल्नु?
कसैको चरित्र किन बिथोल्नु?
किन दोहोराउनु कथा जुगौं पुरानो?
बसेको खाटा किन कुरेत्नु?

भो, थुनिदेऊ सबै कुन्ठा त्यसै पोकोमा
नकोट्याऊ अनगिन्ति घाउहरू
रहन देऊ औषधि धोकै धोकोमा
बस्
बाँच्न देऊ अब बचत स्वाधीनतामा
लामो सास फेरूँ, आफैंलाई समेटूँ
सम्हालूँ, सम्लिऊँ।
सन्देह नगर,
जानेछु म आखिर उनैको आस्रेहमा
आखिर उनैमा त मेरो अर्थ छ
हूँ नै म त अर्धाङ्गिनी,
तिमीले पूरा नबनाउनुमा सायद केही सर्त छ।
जाँदैछु आखिर त्यही पोको समेट्दै, सम्हाल्दै
तिम्रो ढल्केको तराजु तर्फ
नौलो बराबरी तर्फ
कुदिरहेको ढुक्ढुकी सहित
रङ्गिन जिन्दगी तर्फ।

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)


No comments:

Post a Comment