Saturday, November 5, 2016

कविता : मलाई कविता फुरेन


~तिलकराम लुईटेल~

आमा मलाई कविता फुरेन
आमा तिमीलाई एकथान राजनेता जुरेन ।।

बि.पि. र म.बि.बि.लाई समकालिन जन्मा हुनु थियो भूल
उठ हे जनता भन्दै नेताहरुले फुकेक थिए बिगूल ।।

देश र जनताको लागि केही गर्न खोजेर मौका नपाउनेलाई बि.पि. भन्छन्
धेरै मौका पाएर केही गर्न नसक्नेलाई जि.पि. भन्छन् ।।

पार्टिहरुलाई एक ठाउँमा जुटाउनेलाई गणेशमान भन्छन्
आजीवन सजाय दिनुपर्नेलाई मुक्ती दिनुलाई जीवनदान भन्छन् ।।

अमृत पिउनेलाई देव भन्छन्
बिष पिउनेलाई महादेव भन्छन् ।।

भुँडी फुलाउँदै सुकाउँदै गर्नेलाई रामदेव भन्छन्
भुँडी फुलाएको फुलायै गर्नेलाई बामदेव भन्छन् ।।

नख्खुबाट सुरुङ्ग खानेर भागनेलाई सि.पि. भन्छन्
सेन्ट्रल जेलको नालैनाला भागनेलाई गणेशमान भन्छन् ।।

मिलेर बस्नुलाई अखण्ड भन्छन्
फुटाउन खोज्नेलाई प्रचण्ड भन्छन् ।।

प्रस्ट बोलेर मिठा कुरा गर्नेलाई कुटिल भन्छन्
बोलेको बुझ्दै नबुझ्नेलाई सुशिल भन्छन् ।।

मिठो मिठो बोल्नेलाई कोइली भन्छन्
टर्रो बोली बोल्नेलाई ओली भन्छन् ।।


(नोवेम्बर ५,२०१६  मा आयोजित 'नाफा-साहित्य साँझ २०७३'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment