Saturday, November 5, 2016

कविता : मान्छेहरू


~सुष्मा श्रेष्ठ~

मान्छे जस्तै आकार आकृती भएकाहरू
चारैतिर बजारको भीड र गल्लीहरूमा देख्छु
निरिक्षण गर्छु, राम्ररी हेर्छु, मान्छे नै हो
मान्छेको जस्तै नाक, आंखा, मुख छन्
अहो तर किन भिन्न छन् ? तीनका हेराईहरू,
तर किन भिन्न छन् ? तीनका भावनाहरू,
तर किन भिन्न छन् ? तीनका बोलाईहरू,
मान्छेहरू किन आज मान्छे जस्ता छैनन् ?
किन आजका मान्छेमा मानवता हराए ?


म आफैलाई प्रश्न गर्छु,
फेरि सोच्छु,
त्यही मस्तिष्क, त्यही मन, प्राण भएको मान्छे
एक्काइसौं शताब्दीका महा मानव सम्झिदा मन सिरिङ्ग हुन्छ
त्यो मान्छे जस्ता अनुहार भएका मान्छेहरूलाई देख्दा ।

तर पनि किन आफ्नै अनुहार जस्तै,
अनुहारहरू भिन्न लाग्छ
म जस्तै अनुहार भएका अनुहारहरू वीचमा
त्यो मान्छे जस्तै अनुहार भएको मान्छेहरूको बीचमा
किन तीनलाई भिन्न पाउछु ?  

(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment