Saturday, November 5, 2016

कविता : बिक्रीमा छ

~अप्सरा गिरी भारती~

आत्मा बिक्रिमा छ
ज्ञान बिक्रिमा छ
बिबेक बिक्रिमा छ
हो हजुर, यहाँ मनोरत्तीका हर साधन बिक्री हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

पिरेम बिक्रिमा छ
प्रेमी बिक्रिमा छ
माया बिक्रिमा छ
हो हजुर, यहाँ सम्बन्धको नाप तोल अनी मोल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।


अङ्ग बिक्रीमा छ
रगत बिक्रीमा छ
शरीर बिक्रीमा छ
हो हजुर, यहाँ हाम्रा चेली अनी भोलीका सन्तती बिक्री हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।। 

संबिधान बिक्रिमा छ
नेता बिक्रीमा छ
भुभाग बिक्रीमा छ
हो हजुर, यहाँ देश थोक अनी खुद्रामा बिक्री हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

हक बिक्रीमा छ
अधिकार बिक्रीमा छ
न्याय बिक्रीमा छ
हो हजुर, यहाँ शक्तीको बाघपञ्जा नै भारी हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

सेना बिक्रीमा छ
प्रहरी बिक्रीमा छ
कर्मचारी बिक्रीमा छ
हो हजुर, यहाँ हरेक तप्का उम्लिएर तप्की रहेको हुन्छ 
यहाँ सब्थोक बिक्रीमा छ ।।

मान बिक्रीमा छ
सम्मान बिक्रीमा छ
ताली बिक्रीमा छ
हो हजुर, यहाँ दोसल्ला र प्रमाणपत्रको भारीको रेट हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

धर्म बिक्रीमा छ
भक्त बिक्रीमा छ
आस्था बिक्रीमा छ 
हो हजुर, यहाँ ईश्वरको सबैभन्दा ठुलो व्यापार हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

रोजगारी बिक्रीमा छ
व्यापार बिक्रीमा छ
मज्दूरी बिक्रीमा छ
हो हजुर, यहाँ हर गिद्ध कर्मको सिनो कुरिरहेको हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

स्वास्थ्य बिक्रीमा छ
सेवा बिक्रीमा छ
औषधी बिक्रीमा छ
हो हजुर, यहाँ हर चोकमा गरीब अस्पातल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

शिक्षा बिक्रीमा छ
परीक्षा बिक्रिमा छ
नतिजा बिक्रिमा छ
हो हजुर, यहाँ हुँडारहरुको लुच्छाचाँडी मनोमानी हुन्छ
यहाँ सब्थोक बिक्रिमा छ ।।

संस्क्रिती बिक्रीमा छ
संस्कार बिक्रिमा छ
रिती बिक्रिमा छ
हो हजुर, यहाँ नेपालीपन कम जात-जातको नाराको हुँकार हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

भोक बिक्रीमा छ
अशिक्षा बिक्रिमा छ
अबिकास बिक्रीमा छ
हो हजुर, यहाँ गरीबीको आवरणमा पैसा छाप्ने खेल हुन्छ
यहाँ सब्थोक बिक्रीमा छ ।।

भनुँ के अरु के के बिक्रीमा छ 
रुग्ण आमाको परदेशी छोरीको भोली बिक्रीमा छ
निमोठिएको सपना र भात्किएको विश्वाश लिएर म आफै बिक्रीमा छु
हो हजुर, म आफै बिक्रीमा छु  ।।  


(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment