Saturday, November 5, 2016

कविता : साधना

~डा. रमेश खनाल~

मलाई राम्ररी थाहा छ
तिमीले छरेका अनगिन्ती मोतीहरू टिप्ने प्रयासमा
मैले थुप्रै ढुङ्गा र गिटीहरु टिपेको छु
हात भरी माटो र शिर भरी फ़ोहर बोकेको छु
तथापि त्यसलाई समेत
तिमीले दिएको उपहार सम्झेर
आभूषण झैं हर पल धारण गरिरहेछु 
तिम्रो अनन्य कृपा स्वरुप
निरन्तर ग्रहण गरिरहेछु।


असिमीत आकाशको उचाई नाप्ने दुस्साहसमा

आफू पुड्को भएको चालै नपाए पनि
अपरिमित ब्रह्माण्डको एउटा तुच्छ प्राणी म
तिमीलाई चिन्न खोज्नुको निरर्थकतामा 
अझै रुमल्लीरहेछु, भौंतारिरहेछु
तैपनि त्यसैलाई साधना सम्झेर
एउटा फूल झैँ स्वयमलाई अर्पित गरिरहेछु।

सुर्योदयसँगै फैलिएको स्निग्ध प्रकाश
मेरो अन्तस्करणमा प्रवेश खोजिरहेछ
परन्तु मेरो आफ्नै स्थूल शरिर भने
द्वारपाल बनेर त्यसलाई अनवरत रोकिरहेछ
तिम्रा श्वेत किरणहरुले आलोकित हुन नसके पनि
आखिर त्यो पनि तिम्रै ईच्छा त हो, चित्त बुझाइरहेछु
तिम्रै चाहना त हो, निसङ्कोच स्वीकार गरिरहेछु
अबोध बालक झैं पुलकित छु, मुस्कुराइरहेछु।

बिराट रात्रीको सघनतासंगै
तिम्रो आराधनामा लीन हुन खोज्दा
तुरियावस्थामा समाधिस्थ हुन नसक्नुको पिडा समेत 
तिम्रै आशिर्वाद सम्झेर
सपनाभरी भोगिरहेको हुन्छु
बिपनाभरी साँची रहेको हुन्छु
कदाचित तिम्रै पाउमा प्रायश्चित गर्न सकूँ
तिम्रै अस्तित्वमा समाहित हुन सकूँ।

न म शंकराचार्यले झैं शिवोहम् शिवोहम् भन्न सक्छु
न त याज्ञवल्क्यको ब्रह्म जानाति ब्राह्मणको
भेउ नै पाउन सकेको छु
म त केबल एउटा धोत्रो स्वर
र रुग्ण काया बोकेर
तुलसीदासको रुद्राष्टकम् भट्याउने क्रममा
आफूलाई बिर्सने उपक्रम गर्दैछु
ताकि स्वयम्लाई बिर्सने क्रममा
तिमीलाई प्राप्त गर्न सकूँ।

जतिखेर त्वमेव माता च पिता त्वमेव को अर्थ थाहा थिएन
त्यतिखेर तिम्रो सम्झनामा सर्वाङ्ग भिजिरहेको हुन्थेँ
आज त्यसको शाब्दिक अर्थ बुझेको छु
तर म कोशौं टाढा पुगेको अनुभूत गर्छु
यो विरोधाभाषलाई सहर्ष स्वीकार गर्ने मेरो यत्न
एउटा अव्यक्त बेदनामा क्षीण हुदैं गैरहेछ  
तथापि तिम्रो सौन्दर्यको सोपानमा डुबुल्की मार्ने उत्कट अभिलाषामा
अनवरत मेरा पाइलाहरु बढाइरहेछु, बढाइरहेछु।

शदियौंदेखि बटुलिएका मैलहरु
पखाल्ने, त्याग गर्ने क्रममा
अझै त्रुटीहरु दोहोर्याईरहेछु
खुट्टाहरु लड़खड़ाई रहेछु
मानौं त्यो अन्तहीन शृंखला हो, निरवच्छिन्न प्रक्रिया हो
परन्तु मेरो आफ्नै सोच भने
प्रत्येक पटक उत्तीर्ण हुदैं 
क ख चिन्दै माथिल्लो श्रेणी उक्लेको विद्यार्थी जस्तै
तिमीले लिएको परीक्षा हो
ताकि अबिराम, अकिञ्चन एउटा यात्री झैं
संसार पूर्णरूपेण त्याग गरेको निर्लिप्त योगी झैं
तिम्रो शुन्यतामा निमिट्यान्न हुन सकूँ
तिम्रो अलौकिक दिब्यतामा विलीन हुन सकूँ
तिम्रो सम्पूर्णतामा अस्तित्वहीन बन्न सकूँ।

(नोवेम्बर ५,२०१६  मा आयोजित 'नाफा-साहित्य साँझ २०७३'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment