Saturday, November 5, 2016

कविता : बनायौ भगवान


~विश्वजित अधिकारी~

संसार बनायौ भगवान तिमीले
धर्ती आकास बनायौ, पानी बनायौ
फुटाइ छाती अन्नको खानी बनायौ
धेरै बनायौ, छानी छानी बनायौ ।

जन्माइ नानी, फेरी जवानी बनायौ
चेतना भएको मानव जाती हामीलाई
तिमीले रुप रंग अनेक अनेक बानी बनायौ
कसैलाई ठूलो, कसैलाई सानी बनायौ ।


धनी बनायौ, मन भएको मनकारी
झुपडी र महल, राजा रानी बनायौ
धर्मी बनायौ यहां, बनायौ अधर्मी
दामी बनायौ तिमीले, चोरी लानी बनायौ ।

चलिरहंदा शृष्टी आफ्नै रफ्तारमा
दैविप्रकोप, भुकम्प जानी बनायौ
बाढी पहिरो, रोग ब्याध माहामारी
सन्तान मार्ने अनेकौं काहानी बनायौ ।

जे बनायौ ती सबै जानी नजानी बनायौ
तर हामी नेपालीलाई स्वाभिमानी बनायौ । 


(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment