Saturday, November 5, 2016

कविता : खोज

~अर्चना धाख्वा~

म नभए के गर्छौ तिमि
जीवन कसरी ब्यहोर्छौ  तिमि
यहि त्रासले म बाँच्न खोज्छु
बचेको सासलाई साँच्न खोज्छु । 

जीवन यात्रा तिम्रो आफ्नै हुनेछ
साहस सफलताले आकाश छुनेछ
तैपनि उमङ्ग घ्च्घच्याउन खोज्छु
मृत्युलाई जिवितै सच्याउन खोज्छु ।


गह: भरिको ममता र माया
तिम्रो मेरो सम्बन्ध घाम र छाया
छायाबाट उषामा उक्लिन खोज्छु
दैनिक तिमि सामु झुल्किन खोज्छु ।

समय निष्ठुरी छाडी छ जानु
जीवन अनित्य म कसरि नमानुं
बाँधेर धागो मोह आदित्य खोज्छु
अनन्त काल सम्म सामिप्य खोज्छु ।

आकांक्षा मनको तिमि प्रवल होस्
वर्तमान भविष्य सबै उज्ज्वल होस्
संघर्षमा पनि दृढता खोज्छु
तिम्रो जीवनमा उत्क्रिस्टता खोज्छु । 

म नभए के गर्छौ यो प्रश्न नगरूँ
जीवनलाई जिउछौ म बाँचु या मरुँ
आफ्नै मतीमा यो बिश्वास खोज्छु
मुटु भित्र मेरै यो आभाष खोज्छु । 

कठिनाईमा तिमि नडग्मगाउनु
अहमले पनि नजगमगाउनु
पृथ्वीमा रहुन्जेल धरातल खोज्छु
तिम्रो पथमा शान्ति र समतल खोज्छु । 

कामना शुभ सधैँ तिम्रो साथ
शिरमा आशिषको राखेर हात
आफ्नो मन भित्र मातृत्व खोज्छु
आमा हुनु को दायित्व खोज्छु । 


(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment