पेट घटाउने उदेश्यमा
म बजार डुल्दै थिएँ
रंगिन त्यो माहौलमा
म रमाउंदै थिएँ
यात्रामा व्यवधान गर्दै
एउटा खाते बच्चाले छेक्यो
मानव उ पनि म जस्तै
तै पनि अमिल्दो भयो
सुकिलो मेरो लुगामा
हातको मैलो लाइदिएछ
रमाइलो त्यो क्षणमा
कुसाइत पारी दिएछ
भोको पेटको इशारामा
पछि पछि माग्दै आयो
उस्को नियाउरो अनुहारमा
हल्का आशा देखिन्थ्यो
जा भनि हप्काएँ
अलच्छिना छुट्दै छुटेन
म फटाफट लम्किएँ
छुटकारा त्यो बाट पाउन
दुरी म बढाऊँदै गएँ
निराशा उसमा छाऊँदै गयो
बल्ल पिछा छोड्यो
खुशीभाव ममा चढ्यो
भोक त लागेको थिएन
मिठाई पसलले लोभ्यायो
पेट उकुस मुकुसै थियो
तै पनि मुख मिठ्याइयो
बजारमा होहल्ला मच्चियो
रमिता हेर्न सबै झुम्मिए
काम मेरो पनि थिएन
भिड छिचोल्दै हेर्न गएँ
आधा समोसा निल्दै गरेको
अघि कै खाते बच्चा रहेछ
साहुजीले थप्पड हान्दै थियो
आधा समोसा चाहिं खसेछ
ढुंगे मन मेरो पग्लेन
एक लात हिर्काई दिएँ
औचित्य साबित गर्न
“चोर तलाईं” भनि दिएँ ।
(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment