~लेखनाथ काफ्ले~
हँसिया र डोको बोक्दैछु, रुँदैछु खेतको आलीमा
जीवन व्यर्थै भइसक्यो, अँध्यारो यो औँसीमा ।
म त पढ्न त चाहन्छु, पढ्न चाहन्छु
घाँसको भारी हैन नि, ज्ञानको भारी चाहन्छु ।
नरुवाउ बाबा नरुवाउ आमा, धुरुधुरु मलाई
बाहिरी मन हाँसिराछ, भित्री मन जलाई ।
म त शिक्षा त चाहन्छु, शिक्षा चाहन्छु
हँसिया र डोको हैन नि, म त किताब चाहन्छु ।
म जस्ता कैयौं हेर न बाबा, स्कूल गईराछन्
ज्ञानको कुञ्ज लिएर आमा, अघी बढीरहेछन् ।
म त पुस्तकको थाक चाहन्छु, शिक्षा चाहन्छु
अन्धकार हैन नि, म त उज्यालो चाहन्छु
म त शिक्षा चाहन्छु, कलम चाहन्छु , उज्यालो चाहन्छु ।
(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment