Saturday, March 23, 2019

गजल : रोउँ रोउँ लाग्छ आज भोली

~आविष्कार भारती~

पखाल्न मन रोउँ रोउँ लाग्छ आज भोली
रङ्गीन सिउँदो धोउँ धोउँ लाग्छ आज भोली ।

 मायाको सम्बन्धमा कसी केही चाहिँदैन भन्थे
सम्झनाको हिरा फोरुँ फोरुँ लाग्छ आज भोली । 

बली नाताको दिएर समर्पण गरेकी थिएँ
क्रुर अतित मोडुँ मोडुँ लाग्छ आज भोली । 

खहरेलाई नदी ठान्नु गल्ती गरेकी हुँ
बगर भई पछी बसुँ-बसुँ लाग्छ आज भोली ।

 मायाको भगवान बनाएर पूजेकै थिएँ
बर्सिँदा हठात, मुक जलुँ-जलुँ लाग्छ आज भोली ।  

तिम्रो त्यो जतन, धानचुटाई भएको प्रहर
मृत्‍युको काखमा निमग्न सुतुँ-सुतुँ लाग्छ आज भोली ।

 परिवर्तन अनित्य समयको नित्यता हो
झस्किएर संसार छोडुँ-छोडुँ लाग्छ आज भोली ।
 
(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment