Saturday, November 18, 2017

कविता : म उत्तर फर्कन्न


~लेखनाथ काफ्ले~

म पुर्व फर्कन्छु 
पश्चिम फर्कन्छु 
हात पसारेर म दक्षिण फर्कन्छु 
बङ्गालको खाडी देखेपनी नदेखेझै गर्छु 
बरु मरे मर्छु ,उत्तर फर्कन्न 

सियो माग्छु 
फाली माग्छु 
तालपरे म थाली माग्छु 
लाज सरम सबै पचाएर 
कोशी थुन्ने तारका जाली माग्छु 

पोल माग्छु 
गन्हाउने झोल माग्छु 
मादल कुनामा फ्याक्छु अनी ढोल माग्छु 
उत्तरमा बलिया गम्बुटका राशहरु देख्छु
तर दक्षिण फर्की पिटिक्कै भचिने सोल माग्छु 

तेल माग्छु 
नेल माग्छु 
आवश्यक परे अश्रुग्यासका शेल माग्छु 
उत्तरतिर हातै पसार्दिन 
तालपरे सिमानामै पुर्व पश्चिम जोड्ने रेल माग्छु 

पानी दिन्छु 
जङगलका घानी दिन्छु 
माग्छन भने उत्खनन गर्न खानि दिन्छु 
अझै त्यतिलेनै पुग्दैन भने कोठिमा नचाउने रानी दिन्छु 
जे सुकै भन म उत्तर फर्कन्न 
दक्षीणले आँखाको धुलो सम्झन्छ 
उत्तरतिर बग्ने कुलो सम्झन्छ 
बक्रद्रिस्टी यतैतिर लगाएर 
बिस्तारबाद्लाई जलाउने चुलो सम्झन्छ 

त्यसैले म पहिलेझै 
दक्षिण फर्कन्छु 
हात फैलाउछु 
अझै माग्छु ,धेरै माग्छु 
हात पसारेर नयाँ नेपाल बनाउछु 
पुरानै नयाँ नेपाल बनाउछु

(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment