~प्रदीपरत्न शाक्य~
बगर तकदीर भई सक्दा
तिमी आयौ
मायाका छाल बनी ,
भिजाउन खोज्यौ ,
म भिज्नै सकिन !
तिमीले जुठो गरेको
मेरो बिपना
तिम्रो मायासंग खेलेको
मेरो प्रेम
तिमीलाई हेरी केही क्षण खुशि भए नि
म हुन सकिन ।
आँसु भई सकेका मेरा यादहरू
सडि सकेका मेरा सपनाहरू
हो चिहानमा झैँ छन्
मेरो मस्तिष्कमा ,
खै कसरी ब्यूंटाऊँ ?
मायाहरू झैँ
पछुटोमा सडिरहेका छन् ।
के जीवन मैन हो ?
यस्तै सोधिरहने धडकन
कोसौं दूर टाढी सकेछ मसंग ।
के प्रित झरणा हो ?
यसरी सोधिरहने स्नेह
अलप भई सकेछ मसंग ।
हिउँ ,वर्षा ,बाढी भए नि
सायद तिम्रा रोदन ,
भिजिने छैन यो चेतना कपडा सरी ।
तिमीसंग लट्ठिने इच्छा आकांक्षा
हो धुलो धुलो भई सके छन्
तिम्रा धोकाका लहर खेपी खेपी ।
बगर तकदीर भई सक्दा
तिमी आयौ
मायाका छाल बनी ,
भिजाउन खोज्यौ ,
म भिज्नै सकिन !
सायद भिजिंदैन
हो छ म भित्र मात्र वितृष्णाको आगो ।
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment